काठमाडौं, १९ फागुन । मोतीदेवी स्मृति प्रतिष्ठानले समाजको विविध विधाको विकासमा योगदान गर्ने आठ महिलालाई आज सम्मान गरेको छ ।
सम्मानित हुनेमा राजनीतिकर्मी उतरा कोइराला, कलाकार निशा शर्मा, पत्रकार संगीता लामा, समाजसेवी सुवर्ण केशरी, खेलाडी निरा कायस्थ, अपांगता भएकी संगीता पन्त, दलित अधिकारकर्मी रामरति राम र आरोही चुनु श्रेष्ठ हुनुहुन्छ ।

नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले उहाँहरुलाई सम्मान गर्दै पार्टीभित्र व्याप्त गुटबन्दीका कारण महिला अधिकारका लागि जीवनभर संघर्ष गर्ने महिलालाई नेतृत्वमा स्थापित गर्न नसकिएकामा चिन्ता व्यक्त गर्नुभयो ।

Advertisement

उहाँले मुलुकमा ६८ वर्ष अगाडिदेखि शुरु भएको जनक्रान्ति सम्पन्न भएको बताउँदै संविधानसभाबाट जारी भएको संविधानले सबैका अधिकारलाई सुरक्षित गरेको भए पनि महिला अधिकार प्राप्तिमा अझै पनि पछि परेको र उनीहरुलाई शोषण भइरहेको बताउनुभयो ।

प्रदेश सांसद केशव खनाल, पूर्व सांसद गरिमा शाहलगायतले महिला सशक्तीकरणका लागि लामो संघर्ष गरेको अनुभवी नेता महिला भएका कारण, आफ्नो गुटमा नपरेका कारण जिम्मेवारीबाट वञ्चित गराउँदा नयाँ पुस्ता राजनीतिप्रति आकर्षित हुन नसक्ने विचार व्यक्त गर्नुभयो ।

नेकपा (एमाले)का उपाध्यक्ष तथा प्रतिष्ठानका अध्यक्ष अष्टलक्ष्मी शाक्यले मोतीदेवीले काठमाडौँबाट कलकत्तासम्म हिँडेर गएर कम्युनिष्ट पार्टी गठनका समयमा संस्थापक सदस्यका रुपमा जिम्मेवारी लिएर निष्ठाको राजनीति गर्नुभएको स्मरण गर्नुभयो ।
ललितपुरमा जन्मनुभएकी मोतीदेवीको विसं २०५४ मा ८६ वर्षको उमेरमा निधन भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!