काठमाडौं, १३ फागुन । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले ‘काँग्रेस संसदीय दलको विधान, २०७४’ अनुमोदन गर्ने भएको छ ।

Advertisement

शनिबार बसेको संसदीय दलको बैठकले पार्टीको विधान परिमार्जनसहित पारित गरेको थियो । संसदीय दलको बैठकले डा. मीनेन्द्र रिजालले प्रस्तुत गरेको विधानलाई पारित गरी अनुमोदनका लागि केन्द्रीय समितिमा पठाउने निर्णय गरेको थियो ।

केन्द्रीय समितिले विधान अनुमोदन गरेपछि संसदीय दलको नेता चयन प्रक्रिया शुरु हुने नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवासँगै महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले पनि दावी गर्दै आएका छन् । सर्वसहमति भए डा. कोइराला र देउवासँग चुनाव लड्नुपर्ने अवस्था आए सिंहलाई अघि सार्ने तयारी गरिएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बस्ने केन्द्रीय समिति बैठकले पार्टीको संसदीय दलको विधान पारित गरी संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाउने पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिनुभयो ।

काँग्रेसबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसदहरुको शनिबार बसेको संयुक्त बैठकले काँग्रेस संसदीय दलको विधान मस्यौदा सर्वसम्मतले पारित गरी अनुमोदनका लागि केन्द्रीय समितिमा पठाएको थियो ।

नेपालको संविधानबमोजिम दुई सदनात्मक व्यवस्थापिका अनुसार काँग्रेसले पार्टी संसदीय दलको विधान परिमार्जन गर्न लागेको जनाएको छ । यही फागनु २१ गते संघीय संसद्को बैठक बस्न लागेकाले त्यसअघि काँग्रेसले संसदीय दलको नेता चयन गरिसक्ने जनाएको छ ।

आजको बैठकले संसदीय दलको नेताको निर्वाचनका लागि निर्वाचन समिति बनाउने र मिति तोक्ने बताइएको छ । यसबाहेक समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!