काठमाडौं । मधेसी मोर्चाले संविधानको धारा २७४ संशोधन गरे सीमांकन हेरफेरलाई थाती राखेर स्थानीय चुनावमा सहभागी हुने संकेत दिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै सक्रियतामा सत्तारुढ र मधेसी मोर्चाका नेताहरुबीच कार्यदलमा छलफल चलिरहेको छ । कांग्रेसका कृष्ण सिटौला, माओवादीका कृष्णबहादुर महरा, राप्रपाका दिपक बोहोरा कार्यदलमा छन् भने मधेसी मोर्चाबाट राजेन्द्र श्रेष्ठ, लक्ष्मणलाल कर्ण र पेशल ढकाल छन् ।
सत्तारुढ दलका नेताहरुले छलफल सहमति नजिक पुगेको दाबी गरेका छन् भने मधेसी मोर्चाका नेताहरुले भने अहिले आफूहरु छलफमै रहेको बताउाछन् ।
संघीय समाजवादी फोरमका सहअध्यक्ष समेत रहेका राजेन्द्र श्रेष्ठले प्रधानमन्त्री प्रचण्ड सामू संविधानको धारा २७४ संशोधन गर्न प्रस्ताव राखेको बताए । ‘मैले धारा २७४ को उपधारा ४, ५, ६ र ७ खारेज गर्नुस् । यो भएमा सीमांकन थाती राखेर चुनावमा जाने वातावरण बन्नसक्छ, उनले भने ।
के छ धारा २७४ मा ?
धारा २७४ मा संविधान संशोधनसम्वन्धी व्यवस्था छ । नेपालको सार्वभौमिता, भौगोलिक अखण्डता, स्वाधिनता र जनतामा निहित सावैभौमसत्ताको प्रतिकुल हुने गरी संविधान संशोधन गर्न नसकिने प्रष्ट व्यवस्था छ ।
मधेसी मोर्चाले खारेजको माग गरेको उपधारा ४ देखि ७ सम्म भने कुनै पनि प्रदेशको सीमांकन हेरफेर गर्नु परे बहुसंख्यक प्रदेशसभाले स्वीकृति दिनुपर्ने व्यवस्था छ ।
यही व्यवस्थाका कारण सरकारले अघि सारेको संविधान संशोधन विधेयक अडि्कएको छ ।
फोरम सहअध्यक्ष श्रेष्ठका अनुसार मधेसी मोर्चाले यो व्यवस्थालाई खारेज गरेर सम्वन्धित प्रदेशको परामर्शमा संसद (राष्ट्रिय सभा र प्रतिनिधिसभा) ले सीमांकन हेरफेर गर्न सकिने प्रावधान राख्नुपर्ने प्रस्ताव गरेको छ ।
कार्यदल सदस्य समेत रहेका श्रेष्ठले भने, ‘अहिलेको व्यवस्थाले नयाँ प्रदेश गठन वा सीमांकन हेरफेरको ढोका बन्द गरेको छ । यसलाई खारेज गर्नुपर्छ र, भारतको संविधानमा जस्तै सम्पन्धित प्रदेशको परामर्शमा संसदले दुई तिहाईले सीमांकन हेरफेर गर्न सकिने व्यवस्था गर्नुपर्छ ।’ अन्यथा सीमांकनलाई थाती राखेर चुनावमा जान नसकिने मधेसी मोर्चाको अडान छ ।
संविधानको धारा २७४ संशोधनबारे सत्तारुढ दलहरुले ठोस जवाफ लिइसकेका छन् । तर, प्रधानमन्त्री प्रचण्ड यसप्रति सकारात्मक रहेको उनले बताए । कार्यदलका अर्का सदस्य एवं तमसपाका नेता पेशल ढकालले पनि कुनै सहमति नभएको दाबी गरे ।
चुनावमा भाग लिन प्रचण्डको प्रस्ताव
प्रधानमन्त्री प्रचण्डले स्थानीय तहलाई प्रदेश अन्तरगत राख्नु पर्ने मागलाई थाती राखेर वैशाख ३१ को चुनावमा आउन मधेसी मोर्चालाई आग्रह गरेका छन् । ‘प्रचण्डले भोलिका दिनमा प्रदेश मातहतमा राखौंला, एक पटक संक्रमणकालीन व्यवस्था मानेर चुनाव आउनुस् भन्नुभएको छ’ श्रेष्ठले भने ।
श्रेष्ठले भने पार्टी अध्यक्ष उपेन्द्र यादव दिल्ली भ्रमणमा रहेको भन्दै उनी फर्किएपछि छलफल गर्ने जवाफ दिएका छन् । यादव बिहीबार र्फकने कार्यक्रम छ । अनलाइनखबर