काठमाडौँ, १७ माघ ।  पुस शुक्ल पूर्णिमादेखि शुरु भएको एक महिने स्वस्थानी व्रत आज बिहान समापन गरिएको छ ।

Advertisement

बिहान ८ बजेर ५५ मिनेटपछि चन्द्रग्रहणको सुतकले व्रत उद्यापन गर्न नहुने भएकाले त्यसअघि नैे पुस शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत शुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका व्रतालुले आज साङ्गे गरेका हुन् ।

त्यसै दिनदेखि शुरु गरिएको स्कन्द पुराणअन्तर्गतको केदारखण्डको माघ माहात्म्यमे अन्तर्गत कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने काम पनि आजैदेखि अन्त्य भएको छ ।

विधिपूर्वक एक महिने व्रत गरेकाले आज माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ पmूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, बस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी स्वस्थानी मातालाई अघ्र्य दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ÷आठ ओटा पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मितछोरालाई एवं मितछोरा पनि नभए कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बगाउने गरिन्छ ।

सय रोटी व्रतालुले फलाहार गरी रातमा जाग्राम बस्ने र जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरेमा मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानीको पूजा हो । उत्तरायणपछिको समय ध्यान, योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थानअर्थात आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको र यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ ।

सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवीको रुपमा पुजिदै आएको छ । स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा छ ।

यस्ती देवीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन हुन्छ भन्ने विश्वास छ । रोगब्याध ठीक हुने र पति वा पत्नीका रुपमा कसैलाई इच्छाएको भए प्राप्त हुने धार्मिक विश्वास छ । सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेव पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन छ । व्रतको प्रभावले बिछोडमा परेका नाग नागिनीको समेत पुनर्मिलन भएको कथामा उल्लेख छ ।

गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधिअनुसार गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको साँखुको ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक र पर्यटकीय विषयमा अनुसन्धानरत इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’ चर्चा गर्नुहुन्छ ।

मध्याह्नकालमै स्वस्थानी व्रत उद्यापन गर्न चाहनेले भने माघ शुक्ल पूर्णिमाका दिन आज ग्रहणको सुतकका कारण नपाउने भएका छन् । मध्याह्नकालमै व्रत समापन गर्नेले फागुन कृष्ण पञ्चमीअर्थात माघ २२ गतेसम्म विधिपूर्वक गर्न सक्ने नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।

उपत्यकाको पूर्वी भेगस्थित शालिनदीमा पौषशुक्ल पूर्णिमादेखि शुरु भएको माधवनारायण व्रत पनि आज ग्रहण लाग्नु अघि बिहान ७ः३० बजेदेखि नै नित्य पूजा, पाठ सहित अश्वमेध यज्ञ गरी समापन गरिएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका अध्यक्ष राजभाइ श्रेष्ठको भनाइ छ ।

बिहीबार व्रतालुलाई भोज खुवाएपछि एक महिने माधवनारायण मेला समापन हुँदैछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!