रासस

काठमाडौँ, १७ माघ । उपराष्ट्रपति नन्दबहादुर पुनले २१ आँै शताब्दीलाई दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को युग बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

Advertisement

उहाँले भन्नुभयो, “यस क्षेत्र जलस्रोत तथा प्राकृतिक स्रोतमा विश्वमा नै धनी रहेको छन्, यसलाई अधिकतम उपयोग गर्दै आगामी युग दक्षिण एशियाली युग बनाउनुपर्छ ।”

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा आयोजित दक्षिण एशियाली लेखा व्यवसायी सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उपराष्ट्रपति पुनले सार्क क्षेत्रका देशको आर्थिक समृद्धिका लागि सामूहिक प्रयत्नको खाँचो औँल्याउनुभयो ।

यस क्षेत्रमा गरिबी, अशिक्षा, बेरोजगारी समस्या रहेको उल्लेख गर्दै उहाँले यी समस्यालाई सम्बोधन गर्न क्षेत्रीय सहकार्य र एकतालाई अझ बलियो बनाउनुपर्छ भन्नुभयो ।

उपराष्ट्रपति पुनले भ्रष्टाचार नियन्त्रण र आर्थिक सुशासन कायम गर्न लेखा व्यवसायीको भूमिका अहं रहने चर्चा गर्नुभयो । सम्मेलनमा सार्क क्षेत्रका लेखा व्यवसायी संस्थाका प्रमुखको सहभागिता रहेको छ । वित्तीय प्रणालीका विविध आयाम, आर्थिक समृद्धि, लेखा व्यवसायीको क्षमता अभिवृद्धि माथि छलफल हुनेछ ।

आयोजक संस्थाका अध्यक्ष प्रकाशजङ्ग थापाले आर्थिक सुशासन, वित्तीय प्रणालीमा सुधारका लागि सरकारी तथा निजी क्षेत्रको सहकार्य आवश्यक रहेकामा जोड दिँदै भ्रष्टाचार न्यूनीकरण गर्न लेखा व्यवसायीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

सम्मेलनको उद्घाटन सत्रमा दक्षिण एशियाली लेखा व्यवसायी संस्थाका प्रमुख डा सुवोधकुमार कर्णले सम्मेलनमा आर्थिक समृद्धि र दिगो विकासका लागि वित्तीय प्रणालीमा सुधार गर्नुपर्छ भन्नुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!