रासस

काठमाडौँ, १६ माघ ।  नेपाल विद्यार्थी संघले शहीद दिवसका अवसरमा आज दीपप्रज्वलन तथा वृद्धवृद्धालाई फलफूल वितरण गरेको छ ।

संघले पशुपतिनाथ मन्दिर परिसरभित्र ‘समाजकल्याण केन्द्र वृद्धाश्रम’ मा रहेका ५०० वृद्धवृद्धालाई फलफूल वितरण गरेको हो ।

Advertisement

फलफूल वितरण गर्दै रक्षामन्त्री भीमसेनदास प्रधानले देशमा प्रजातन्त्र प्राप्तिका लागि ज्ञातअज्ञात शहीदको सम्मानमा नेविसंघले फलफूल वितरण गरेर राम्रो काम गरेको बताउनुभयो ।

नेविसंघका उपाध्यक्ष रामप्रसाद अधिकारीले शहीदको सम्मानले नै लोकतन्त्रप्रतिको सम्मान प्रकट हुने बताउनुभयो ।

यसैगरी आजै नेविसंघ केन्द्रीय समितिको आयोजना तथा प्राविधिक विद्यार्थी परिषद्को संयोजनमा शान्तिवाटीकामा दीप प्रज्वलन गरिएको छ ।

कार्यक्रममा काँग्रेस नेता डा रामशरण महतले दीप प्रज्वलनमार्फत नेविसंघले शहीदलाई सम्झेर राम्रो काम गरेको बताउँदै “स्वतन्त्रताको आन्दोलन शहीदका कारण सफल भएको हो,” भन्नुभयो ।

काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले मुलुकलाई यो अवस्थामा ल्याउनका लागि शहीदले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

नेविसंघका उपाध्यक्ष उर्मिला थपलियाले लोकतन्त्रको रक्षाका लागि शहीदको महत्वपूर्ण भूमिका रहेकाले शहीदको सम्मानका लागि उक्त कार्यक्रम गरिएको बताउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!