भद्रपुर, १५ माघ।  किराँत संस्कृतिको संरक्षण तथा सामाजिक एकताको सन्देश लिएर हरेक वर्षको उद्यौली पर्वका अवसरमा लगाइँदै आएको ११ औँ किराँत महोत्सव भद्रपुरमा शुरु भएको छ ।

Advertisement

निर्माणाधीन किराँत सामुदायिक भवन निर्माण पूरा गराउन सहयोगार्थ हरेक वर्ष चल्दै आएको सो महोत्सव एक महिनासम्म चल्ने आयोजक किराँत कल्याण समितिले जानकारी दिएको छ ।
महोत्सवमा राष्ट्रिय कलाकारहरुले मनोरञ्जन दिने, विभिन्न किराँत सांस्कृतिक झलक प्रस्तुति दिने स्टल तथा खानाका परिकारसहित ११ स्टल रहेका छन् ।

मेला संयोजन समितिका संयोजक जीवन सुब्बाले दिएको जानकारीअनुसार पुस २७ गतेबाट शुरु भएको महोत्सव यही माघ २९ गते समापन हुनेछ । महोत्सवमा किराँत खानाका परिकार, सांस्कृतिक वेशभूषा, हातहतियार प्रदर्शन भइरहेको संयोजक सुब्बाले जानकारी दिनुभयो ।

भद्रपुर–८ का वडाध्यक्ष तथा किराँत कल्याण समितिका पूर्वअध्यक्ष गौरव सुब्बा (मनोज) का अनुसार सामाजिक एकता प्रदर्शन गर्दै जातीय पहिचानसहित किराँत संस्कृतिको संरक्षण गर्न महोत्सव फलदायी बन्नेछ ।

एघारौँ महोत्सवसम्म आइपुग्दा समितिले रु एक करोड २५ लाख खर्च गरेर तीनतले सुविधा सम्पन्न सामुदायिक भवन बनाउन सफल भएको जानकारी दिनुभयो । वडाध्यक्ष सुब्बाका अनुसार रु २५ लाख जति खर्च गर्न सके भवनको सम्पूर्ण निर्माण पूरा हुनेछ, जसका लागि महोत्सवको सहयोग लिइएको हो भन्नुभयो ।

किराँत कल्याण समितिकी अध्यक्ष सुमन राई भन्नुहुन्छ, “सुविधा सम्पन्न सामुदायिक भवनलाई पार्किङस्थल आवश्यक परेकाले भवनसित जोडिएको एक कट्ठा जग्गा खरिद गर्नैपर्ने बाध्यता छ, जसका लागि पनि महोत्सव रोज्नु परेको हो ।”

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!