बुटवल, ११ माघ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा अब राजनीतिक स्थायित्व कायम गरी आर्थिक समृद्धितर्फ अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

रुपन्देहीको देवदहमा आजदेखि शुरु भएको चौथो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै उहाँले स्थायी सरकार नहँुदा मुलुकमा विकासले फड्को मार्न नसकेकाले अब झण्डै दुईतिहाई बहुमत प्राप्त वाम गठबन्धनको सरकार स्थायी हुने जिकिर गर्नुभयो ।

Advertisement

पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, “सम्भावनाका हिसाबले भारत र चीनभन्दा नेपाल अगाडि छ, अब बन्ने वाम गठबन्धन सरकार देशलाई समृद्ध राष्ट्र बनाउन लाग्नेछ । ” उहाँले देवदह बुद्धको मावली थलो एवं लुम्बिनीसँग जोडिएको ऐतिहासिकस्थल भएकाले यहाँ पर्यटन विकासको प्रचुर सम्भावना रहेको औँल्याउनुभयो ।

देवदहमा लुम्बिनी बौद्धविश्वविद्यालय स्थापनाको प्रक्रिया अघि बढेकाले विश्वविद्यालय स्थापनासँगै यहाँको विकासले गति लिने बताउँदै उहाँले गौतम बुद्धको मावली देवदहमा बौद्ध विश्व विद्यालय निर्माण गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेकपा (एमाले)का उपमहासचिव विष्णुप्रसाद पौडेलले रुपन्देही जिल्लालाई नमूनाका रुपमा विकास गर्ने गरी अब बन्ने सरकार लागिपर्ने बताउनुभयो । कार्यक्रममा खानेपानी तथा सरसफाइ राज्यमन्त्री अब्दुल रज्जाक, महोत्सव मूल आयोजक समितिका अध्यक्ष गोविन्द ठड्राई, एमालेका पोलिटब्युरो सदस्य छविलाल विश्वकर्मा, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका अध्यक्ष श्याम पाठक, प्रदेश सांसदद्वय बलदेव शर्मा पोखरेल र कृष्णप्रसाद न्यौपाने, देवदह नगरपालिका प्रमुख हीराबहादुर खत्रीलगायतले बोल्नुभएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!