बैतडी, ९ माघ।  बैतडीको दशरथचन्द नगरपालिकामा रहेको प्रसिद्ध तीर्थस्थल ईश्वरीगंगा धाममा कुम्भ मेला लाग्ने भएको छ ।

प्रत्येक १२ वर्षमा लाग्ने कुम्भमेला महाशिवरात्रिका अवसरमा आगामी फागुन १ गतेदेखि लाग्ने ईश्वर रामनाम समिति, ईश्वरीगंगा धामले जनाएको छ ।

Advertisement

फागुन १ गतेदेखि शुरु हुने कुम्भमेलाको तयारी तीव्र पारिएको कुम्भमेला व्यवस्थापन समितिका अध्यक्ष कर्णबहादुर चन्दले जानकारी दिनुभयो । मेलास्थल ईश्वरीगंगाधाममा कुम्भमेलाको तयारी भइरहेको छ । फागुन १ गते रुद्राभिषेक गरी फागुन ३ गतेदेखि ६ गतेसम्म महारुद्री यज्ञको आयोजना गरिएको अध्यक्ष चन्दले जानकारी दिनुभयो ।

विसं २०४० देखि सञ्चालन हुँदै आएको कुम्भमेला चौथोपटक शुरु हुन लागेको हो । ईश्वरीगंगाधामको महत्वका बारेमा सबैलाई बुझाउनका लागि कुम्भमेलाको आयोजना गरिएको आयोजकले जनाएका छन् ।

ईश्वरी गंगाधामको महिमाका बारेमा सबैलाई जानकारी गराउन ४८ वर्ष अघिदेखि कुम्भमेलाको शुरुवात गरिएको हो, उहाँले भन्नुभयो, “ईश्वरी गंगाधाममा लाग्ने कुम्भमेलाको भारतको हरिद्वारमा लाग्ने कुम्भमेला जत्तिकै महत्व रहेको छ ।”

ईश्वरी गंगाधामको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रहिआएको छ । मेलामा सहभागिताका लागिसमेत समितिले सबै भक्तजनमा अनुरोध गरेको छ । जगन्नाथको बास रहेको पवित्र तीर्थस्थलका रुपमा रहेको ईश्वरी गंगाधामको प्रचारप्रसार गर्नसके यसको महत्व अझै बढ्न सक्ने स्थानीय संस्कृतिका जानकारले बताएका छन् ।

महाशिवरात्रिका अवसरमा लाग्ने उक्त चौथो कुम्भमेलाको तयारी तीव्र पारिएको छ । बैतडीमा थुप्रै धार्मिक सम्पदा रहेका भए पनि तिनीहरुको प्रचारप्रसार हुन नसक्दा ओझेलमा पर्दै गएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!