कञ्चनपुर, ८ माघ। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु समुदायले पूजामा पशुपक्षी बलि दिन निषेध गरेका छन् ।
माघी पर्वको महत्वपूर्ण दिन खोजनी बोझनीका लागि आज आयोजित बैठकमा गाउँका भद्रभालदमी, गुरुवा, केसौका, बडघरलगायतले पूजामा पशुपक्षी बलि दिंदा समाजमा क्रुरता र निदर्ययिताको भावनाको विकास हुने भएकाले त्यस प्रथालाई निरुत्साहित गर्ने निर्णय गरेका हुन् ।
उक्त समुदायले हरेरी, निकासी, देशबन्ध्या, असारी, होरीलगायतका पूजामा निर्दयी तरिकाले सयौँको संख्यामा कुखुरा, बंगुर, भेडा, बाख्रा, हाँसलगायतका पशुपक्षीको बलि दिने परम्परा रहँदैआए पनि त्यसमा विराम लगाउँन बलि दिन निषेध गर्ने निर्णय गरिएको बडघरियाका नरेन्द्रप्रसाद चौधरीले बताउनुभयो ।
भुइयारीमा थारु समुदायका अठार देवता हुन्छन् उहाँले भन्नुभयो, “सबै देवतामा पशुपक्षी बलि दिने चलन भए पनि अबदेखि ती सबैमा बलि नदिने निर्णय गरेका छौँ ।” पशुपक्षीको सट्टा नरिबल, फलफूललगायतको बलि दिइ प्रसादका रुपमा ग्रहण गर्ने निर्णय समाजको बैठकले सर्वसम्मतिले पारित गरेको उहाँले जानकारी दिनुभयो । थारु समुदायले सामूहिकरुपमा पूजा गर्ने चलन भएको र पूजासम्बन्धी नियम लागू गरिएपछि सबैले मान्ने चलन पनि छ ।
बलि प्रथामा पूर्ण विराम लागेपछि समाजमा हिंसाका घटनामा कमी आई सामाजिक अमनचयनसँगै सद्भाव बढ्ने विश्वास लिएका छौँ गुरुवा फुलराम चौधरीले भन्नुभयो, “हिन्दूधर्मका कुनै पनि ग्रन्थमा मांस भक्षण गर्न बर्जित गरिएकाले यसलाई समाजमा लागू गर्नुपर्ने सबैको दायित्व हो ।” गाउँका सबै जनाले पशुपक्षी बलि दिन नहुनेमा सर्मथनसमेत जनाएका छन् ।
बैठकमै गाउँमा जथाभावी रुपमा प्लाष्टिकको प्रयोग गर्नसमेत प्रतिबन्ध लगाइएको छ । प्लाष्टिकका कारण कृषिउपजमा कमी आउने र वातावरण दुर्गन्धित हुने भएकाले प्रतिबन्ध लगाइएको हो ।
प्लाष्टिकलाई सबै गाउँका बासिन्दाले संकलन गरी सडकका चोकमा राखिएका कुडा दानीमा राखी निर्धारित क्षेत्रमा लगेर नष्ट गर्ने नियम बनाइएको छ । अन्य कुरीतिकारुपमा रहेका चलनलाई परिमर्जित गर्दै लैजाने बडघरको बैठकका सहभागीले प्रतिबद्धता गरेका छन् ।















