अन्‍नपूर्ण

पोखरा,  ६ माघ। पोखरा २१ का किसानले यस वर्ष सुन्तला बेचेर तीन करोड मूल्य गाउँ भित्र्याएका छन्। कृस्ति र निर्मलपोखरीका किसानले सुन्तला बेचेरै तीन करोड रुपैयाँ गाउँ भित्र्याउन सफल भएका हुन्। गत वर्ष सुन्तला बिक्री गरेर एक करोड ५० लाख रुपैयाँ आम्दानी गरेका त्यहाँका किसानले यस वर्ष दोब्बर बढी आम्दानी गरेको जिल्ला सुन्तला उत्पादन संघ कास्कीका उपाध्यक्ष उमानाथ सुवेदीले बताए।

Advertisement

‘गत वर्ष किलोको ६० देखि ७० रुपैयाँसम्म सुन्तला बिक्री भएको थियो। यस वर्ष होलसेलमै एक सय रुपैयाँभन्दा बढीमा व्यवसायीले बगैंचाबाटै खरिद गरे’, सुवेदीले भने, ‘पहिलो पटक सुन्तलाबाट राम्रो मूल्य पायौं।’

यसअघि उक्त वडाबाट प्रतिकिसान ५० हजारदेखि ११ लाख रुपैयाँसम्म सुन्तला बिक्री भएको वडा नम्बर २१ का कृषि सञ्जाल सुवेदीले बताए। गत वर्ष आठ लाख रुपैयाँको सुन्तला बेचेका कृस्तिका किसान खीमलाल सुवेदीले यस वर्ष ११ लाख रुपैयाँमा बगैंचा नै ठेक्का दिएको जिल्ला कृषि विकास कार्यालय कास्कीका कृषि प्रसार अधिकृत प्रकाश बस्ताकोटीले सुनाए। गत वर्ष एक लाख ८० हजार रुपैयाँबराबरका सुन्तला बेचेका किसानले यस वर्ष सुन्तला बिक्रीबाट तीन लाख ५० हजार आम्दानी गरेको उनले उल्लेख गरे।

कुनैबेला सुन्तला उत्पादनका लागि प्रख्यात कास्कीमा पछिल्लो समय सिट्रस डिक्लाइन रोगका कारण सुन्तला उत्पादनका लागि पकेट क्षेत्र मानिएका स्थानमै शतप्रतिशतसम्म उत्पादनमा कमी आएको छ। कास्कीका हंसपुर, कालिका, माझठानामा बगैंचामै ९० प्रतिशतसम्म सुन्तलाका बोट नष्ट भएको पोखरा लेखनाथ महानगरपालिकाका कृषि शाखा प्रमुख मनोहर कडेरियाले बताए। अहिले सुन्तलाको व्यावसायिक खेती भइरहेको सुन्तलाको ब्लक क्षेत्र भरतपोखरीमा ७० प्रतिशत र कृस्ति, निर्मल पोखरीमा २० प्रतिशतसम्म सुन्तलाका बोट नस्ट भएको उनले सुनाए।

उत्तरतर्फ फर्किएका गाउँमा राम्रो सिँचाइ सुविधा, बगैंचा व्यवस्थापन र नयाँ बिरुवा रोप्न सके पोखरामा सुन्तलाबाट राम्रो आम्दानी लिन सकिने कडेरिया बताउँछन्। सिट्रस डिक्लाइन रोगले बोटको फेद कुहिने, टुप्पो सुक्दै गएर पोखरा मालेपाटन, मासवार, बाटुलेचौर क्षेत्रमा यसअधि नै बगैंचा नष्ट भएका थिए।

कास्कीमा १३ सय ५० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुने गरेकोमा पछिल्लो समय उत्पादन क्षेत्र खुम्चिएर सात सय ८० हेक्टरमा सीमित भएको कृषि प्रसार अधिकृत बास्ताकोटीले जानकारी दिए। गत वर्ष कास्कीमा ६ हजार दुई सय टन सुन्तला उत्पादन भएकोमा यस वर्ष ६ हजार टनमा झरेको उनले सुनाए। बगैंचा नष्ट भएर सुन्तला उत्पादन घटे पनि बाँकी रहेका सुन्तलाबाट राम्रो आम्दानी भएको उनले बताए।

महानगरको कृस्ति, फेदीपाटन, पुम्दीभुम्दीको खाल्से, अन्नपूर्ण गाउँपालिकाको सल्यान र रुपाकोट गाउँपालिकाको थुम्कीमा सुन्तला उत्पादन राम्रो हुने गरेको छ। यस क्षेत्रमा पनि सिट्रस डिक्लाइन रोगले किसानलाई दुःख दिने गरेको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!