
काठमाडौं, ३ माघ। वाम गठबन्धनले सरकारले प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने निर्णयको ‘मौन समर्थन’ गरेको छ । गठबन्धनले सरकारको निर्णयपछि राष्ट्रियसभा निर्वाचनको प्रक्रिया अघि बढ्ने समेत प्रतिक्रिया दिएको छ ।
माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले सरकारको निर्णयले राष्ट्रियसभा निर्वाचनमा देखिएको अन्योलता हटेको भन्दै अब सहज ढंगले निर्वाचन प्रक्रिया सहज ढंगले अघि बढ्ने प्रतिक्रिया दिइन् ।
‘प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने जिम्मेवारी सरकारले पुरा गरेको छ । स्थायी प्रदेश राजधानी प्रदेशसभाले तोक्ने भएकाले यो ठूलो कुरा रहेन’, भुसालले भनिन्, ‘ प्रदेश प्रमुखको विषय नयाँ बन्ने सरकारले पुनर्विचार गर्छ ।’
उनले प्रदेश प्रमुख र अस्थायी मुकामको विषयमा विवाद गरिरहनु नपर्ने समेत प्रतिक्रिया दिइन् ।
यस्तै एमाले सचिव तथा पार्टी प्रचारविभाग प्रमुख योगेश भट्टराईले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने सरकारको निर्णयमा कुनै टिप्पणी गरिरहन जरुरी नभएको बताए ।
बुधबारको मन्त्रिपरिषद् बैठकले प्रदेशको अस्थायी राजधानी तोकेको हो ।















