काठमाडौं, ३ माघ । कान्तिपुर दैनिकले सीमा स्तम्भ निर्माण गर्ने क्रममा वीरगन्ज महानगरपालिका-१ बजार छपकैयाँको ५० बिघा नेपाली भूभाग भारतमा पारिएको विषयलाई पहिलो प्राथमिकता दिएर छापेको छ ।
नेपाल-भारत संयुक्त सीमा सर्वेक्षण टोलीले स्तम्भ ३९१ र ३९२ अन्तर्गतका सहायक स्तम्भ निर्माण गर्ने क्रममा उक्त क्षेत्रको भूभाग भारततिर पर्ने भएको समाचारमा उल्लेख छ ।
समाचारमा लेखिएको छ- उक्त जग्गाको नेपाली लालपुर्जा छ । जग्गाधनीले मालपोत कर तिर्दै आएका छन् । नागरिकता र लालपुर्जाले नेपाली नागरिक भए पनि जग्गा भारतमा पर्ने भएपछि स्थानीय आश्चर्यमा परेका छन् । कतिले केही वर्षअघि मात्र जग्गा खरिद गरेका थिए । नेपाल-भारत सीमासँगै बगेको सिरिसिया खोलाको धार परिवर्तन भएसँगै भारतीय पक्षले सीमा स्तम्भ राख्ने स्थान पनि परिवर्तन गरेको स्थानीयको दाबी छ । ८६ वर्षीय महावीर दासले अहिलेको सीमा सर्वेक्षण टोलीले साविक स्तम्भभन्दा झन्डै ५० मिटरदेखि एक सय मिटरसम्म नेपालभित्रको भूमिमा नयाँ स्तम्भ राखेको बताएका छन् ।















