
काठमाडौं, २७ पुस। लालपुर्जा नहुँदा ललितपुरका धेरै भूकम्पपीडित राहत लिनबाट वञ्चित भएका छन् । सुकुमबासी तथा छुटप्रति जग्गा हुनेले अझै पनि पहिलो किस्ताबापतको रकम लिन नपाएको गुनासो गरेका छन् ।
गोदावरी नगरपालिकामा पाँच हजार पाँच सय ४६ जनाले पहिलो किस्ताबापतको राहत रकम बुझेका छन् । तर, दोस्रो किस्ता एक सय ३० र तेस्रो किस्ता ५० जनाले मात्र बुझेका छन् । ललितपुरका सबै स्थानीय तहमा दोस्रो र तेस्रो किस्ताबापतको रकम लिनेको संख्या निकै कम छ ।
गोदावरी नगरपालिका वडा नम्बर ५ सौराह भञ्ज्याङका चन्द्रबहादुर सुन्दासले आफ्नो छुटप्रति जग्गा मात्र भएकाले पहिलो किस्ताको रकमसमेत लिन नपाएको बताए । ‘हाम्रो टोलमा २५ घरभन्दा धेरै छुट प्रति जग्गामा बसेका छौँ ।’ उनले भने, ‘हामीसँग दर्तावाला जग्गा नहुँदा पहिलो किस्ताको रकम पनि पाएका छैनौं । भूकम्पले घर भत्किएका छन्, आफैँ सानो टहरो बनाएर बसेका छौँ ।’
गोदावरी ५ लेलेकै अमितकुमार डंगोलले ऐलानी जग्गामा भएको घर भूकम्पबाट भत्किएपछि दोस्रो किस्ताबापतको राहत रकम लिन नपाएको बताए । ‘पहिलो किस्ताको रकम लिँदा १ रोपनी २ आना जग्गाको लालपुर्जा देखाएर लिएँ ।’
डंगोलले भने, ‘दोस्रो किस्ता दिनुअघि इन्जिनियरले घर हेर्न आउँदा पहिले भएको ठाउँमा घर हाल्न पाउनुहुन्न खेतमा घर हाल्नुहोस् भन्नुभयो ।’ परापूर्वकालदेखि दर्ता नभएको जग्गामा बस्दै आएकाले त्यही ठाउँमा घर हाल्न पाउनुपर्ने डंगोलले बताए ।
सरकारले बेनिसा जग्गामा घर हाल्न नदिएपछि पुनरावेदन पाटनमा लेलेका २२ घर परिवारले भत्किएकै ठाउँमा घर बनाउन पाउनुपपर्ने भन्दै मुद्दासमेत हाले । तर, पुनरावेदन पाटनले पुनः जिल्ला मालपोत कार्यालयलाई छानबिन गरी उचित निर्णय गर्न निर्देशन दिएपछि २ वर्षसम्म भूकम्पपीडितले घर बनाउन पाएका छैनन् ।
गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले पहिलो तथा दोस्रो किस्ताबापतको रकम बुझ्न नपाएकाहरूलाई तत्कालै रकम दिने तयारी भइरहेको बताए । ‘ऐलानी, गुठी, सुकुमबासी छुटप्रति जग्गा भएकाले स्थानीय सर्जमिनका आधारमा दोस्रो किस्ता रकम पाउनेछन् । तयारी हुँदै छ,’ उनले भने ।















