काठमाडौँ, २४ पुस । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले सबै मिलेर वैदेशिक हस्तक्षेपलाई चिर्नुपर्ने बताए । नेपाल प्रज्ञा–प्रतिष्ठानले २९६ औँ पृथ्वीजयन्तीको अवसरमा यहाँ आज आयोजना गरेको अन्तक्र्रियामा उनले इतिहासमा स्वतन्त्र अस्तित्व कायम गरेको नेपालको राष्ट्रियतामा चुनौती रहेको बताउँदै भने, ‘पृथ्वीनारायण शाहको सपनालाई सार्थक पार्ने कार्ययोजना अहिलको संविधानमा व्यवस्था गरिएको छ, अब देशलाई समृद्धिका माध्यमबाट नयाँ उचाइमा पुर्याउनुपर्छ ।’

सो अवसरमा शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीले नेपाल राष्ट्र बैंकले उनको तस्वीर अंकित नोट निष्काशन गरेमा राष्ट्रिय एकताको अभिवृद्धि हुने बताए । संस्कृतिविद् डा जगमान गुरुङले राष्ट्रलाई एकताबद्ध गरी विविध परम्परा र संस्कृतिलाई संरक्षण गरेका शाहको योगदानलाई स्मरण गरेर सरकारले नै एकता दिवस मनाउनुपर्नेमा जोड दिए ।

प्रा. डा. रमेश ढुंगेलले तत्कालीन समयमा दक्षिण एशियामा उदाउँदै गरेको साम्राज्यवाद विरोधी, साझा संस्कृतिका संरक्षणकर्ता र दूरदर्शी नेताका रुपमा शाहलाई स्मरण गर्नुपर्ने बताउनुभयो । इतिहासविद् प्रा डा सुरेन्द्र केसीले शाहले एकीकरणपछि साम्राज्यवादी अंग्रेजलाई देशमा पस्न नदिन लिएको वैदेशिक नीति अहिलेसम्म पनि उत्तिकै सान्दर्भिक रहेको विचार व्यक्त गरे ।

दर्शनशास्त्री डा. वीरेन्द्र मिश्रले विभिन्न भागमा छरिएका राज्य एकीकरण गरी आधुनिक नेपाल सिर्जना गरेका शाहको त्याग र योगदानको सराहना गरे । प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले देशलाई चार जात ३६ वर्णको फूलबारीका रुपमा विकास गर्न खोज्नु भनेको साझा संस्कृतिलाई समान रुपमा मान्यता दिनु हो भने ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!