Advertisement

काठमाडौं, २४ पुस । राष्ट्रपति विद्या भण्डारीले मुलुकका केही स्थानमा केही दिनदेखि बढ्दै गएको शीतलहर र महामारीका कारण प्रभावित जनतालाई तत्काल राहत उपलव्ध गराउन र पीडितको उद्धारमा जुट्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।

आज राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालमार्फत एक विज्ञप्ति जारी गरी राष्ट्रपति भण्डारीले सरकार, गैरसरकारी संस्था, नागरिक समाज लगायतका निकायहरुसँग उचित प्रवन्ध मिलाउन आग्रह गरेकी हुन् । विज्ञप्तिमा ती घटनाप्रति राष्ट्रपति भण्डारीको गम्भीर ध्यानाकर्षण भएको समेत जनाइएको छ ।

शीतलहर  र महामारीका कारण बालबालिका, बृद्धबृद्धा, असहाय, गरिब र निमुखाहरु बढी प्रभावित भएको कुराले आफु दुःखी र स्तब्ध भएको जनाउँदै सम्बन्धित निकायहरुलाई हातेमालो गरी पीडितको उद्धार एवम् राहातको उचित प्रबन्ध मिलाउन समेत राष्ट्रपति भण्डारीले आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले अकालमा ज्यान गुमाएका मृतक र शोकसन्तप्त परिवारप्रति समवेदना दिँदै उपचारका क्रममा रहेका पीडितहरुलाई शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेकी छन् ।

 विगतका वर्षहरुमा समेत यस्ता घटनाहरु हुँदै आएकोले बेलैमा सचेतता अप्नाउन कुरामा  सम्बन्धित पक्षसँग आग्रह गर्दै विज्ञप्तिमा भनिएको छ, विगत वर्षहरुमा पनि यस किसिमका प्राकृतिक घटनाक्रमहरु हुने गरेको र यस वर्ष पनि पुनरावृत्ति भएकोले तिनीहरुको उचित र दीगो व्यवस्थापनको लागि उहाँले (राष्ट्रपतिले) पूर्वतयारी हुनुपर्ने आवश्‍यकता ‍औंल्याउनु भएको छ ।

विज्ञप्तिमा भनिएको छ, शीतलहर एवम् महामारीका कारण विशेषगरी वालवालिका, बृद्धबृद्धा, असहाय, गरिब र निमुखालाइ वढी प्रभावित पारेको कुराले सिंगो देशलाइ दुःखित र स्तब्ध तुल्याएको प्रसंगमा सम्माननीय राष्ट्रपतिज्यूले शीतलहर र प्रकोपबाट उत्पन्‍न परिस्थितिको उचित र व्यवस्थित समाधानका लागि नेपाल सरकारको ध्यानाकर्षण र गैरसरकारी संस्था, नागरिक समाज, निजीक्षेत्र र सर्वसाधारणलाई सरकारसंग हातेमालो गरी पिडीतको उद्धार एवम् राहतको उचित प्रवन्ध मिलाउन आव्हान गर्नुभएको छ ।

पछिल्ला केही दिनदेखि तराई–मधेस लगायतका जिल्लाहरुमा शीतलहर र जाजरकोट लगायतका पहाडी चिसोकै कारण भाइरल ज्वरोको महामारी फैलिदा थुप्रै सर्वसधारणको ज्यान गैसकेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!