काठमाडौं, २१ पुस । नयाँ शक्ति पार्टी नेपालको महाधिवेशन आयोजक समितिको तीनदिने पूर्ण बैठक १० बुँदे घोषणापत्र जारी गर्दै बिहीबार सम्पन्न भएको छ । मंगलबारदेखि कास्कीको माछापुछ्रे गाउँपालिका ल्वाङमा बसेको बैठकले पार्टीलाई सशक्त वैकल्पिक राजनीतिक शक्तिका रूपमा विकास र विस्तार गर्ने, १०, ११ र १२ फागुनमा संघीय परिषद्को बैठक बस्नेलगायतका निर्णय गरेको छ ।
साथै पार्टीको नीतिलाई जनमानसमा प्रभावकारी रूपमा पुर्याउन नसक्नुसँगै विभिन्न शक्तिसँग ध्रुवीकरण, गठबन्धन र तालमेलका कारण स्थानीयसँगै प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा अपेक्षाकृत जनमत प्राप्त गर्न नसकेको बैठकको निष्कर्ष छ । पार्टीका संयोजक डा. बाबुराम भट्टराईको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय कमिटीका पदाधिकारी केन्द्रीय समितिका सदस्य, आमन्त्रित केन्द्रीय सदस्य, विज्ञ परिषद् र संरक्षक परिषद्का सदस्यसहित २ सयभन्दा बढीको सहभागिता थियो ।
बैठकले स्थापनादेखि पार्टीले प्राप्त गरेका उपलब्धिको रक्षा गर्दै पार्टीभित्र देखिएका कमी–कमजोरीलाई निर्ममतापूर्वक हटाउँदै समयको मागले निर्दिष्ट गरेको आवश्यकतालाई आत्मसात् गरी पार्टीलाई सशक्त वैकल्पिक राजनीतिक शक्तिका रूपमा दृढतापूर्वक विकास र विस्तार गर्ने निर्णय गरेको छ ।