काठमाडौं,२० पुस। कांग्रेस नेता गगन थापाले चुनाव हारेर कांग्रेसलाई घाटा नभएको बताएका छन् । उनले अहिलेको समय कांग्रेसका लागि सशक्त बन्ने र नविन कांग्रेस बनाउने मौका भएको समेत स्पष्ट पारे ।
प्रजातान्त्रिक योद्धा तुर्सा हेमरमको शालिक अनावरण गर्न झापा आएका नेता थापाले तुर्सा हेमरम प्रजातान्त्रिक पृष्ठभूमिमा मात्र सीमित हुने योद्धा नभएको बताए । उनले तुर्सा हेमरमजस्ता सादगी नेताकै कारण मुलुकमा प्रजातान्त्रिक बाटोबाट अघि बढ्ने मार्ग प्रशस्त भएको उल्लेख गरे ।
‘तुर्साको लगानी राजनीतिक समुदायलाई शुद्ध र पवित्र बनाउन खर्च भयो,’ थापाले भने, ‘उनलाई प्रजातन्त्रका लागि लड्ने नेताका रुपमा लिन सक्नुपर्छ, पद र प्रतिष्ठाको विषय जोडियो भने तुर्साको योगदानको अनादर हुन्छ ।’ मुलुकमा जातीय विविधता अलौकिक रहेको उल्लेख गरेका उनले यसलाई जोगाएर राख्न नसके प्रजातन्त्र आएको र संस्थागत भएको तर्क दिनुको अर्थसमेत नहुने बताए ।
झापाको कन्काई नगरपालिकामा निर्मित तुर्सा हेमरमको शालिक अनावरण गर्दै थापाले वृहत्तर हितका लागि समुदायको प्रतिनिधित्व गर्न सकिएन भने अहिलेको उपलब्धी अर्थहीन हुने उल्लेख गरे । ‘संसद् बन्दै गर्दा समुदायको वृहत्तर हित पहिलो मुद्दा बन्नुपर्छ,’ उनले भने, ‘भर्खरै सम्पन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनबाट हरेक समुदायको प्रतिनिधित्वको ग्यारेन्टी भयो कि भएन, आगामी दिनमा समिक्षा गरेर अघि बढ्नुपर्छ ।’
थापाले अघिल्लो पुस्ताको लगानीले अहिलेको उपलब्धी प्राप्त भएकाले त्यसलाई पछिल्लो पुस्ताले संरक्षण गर्नुपर्ने औँल्याए । राजनीतिलाई पेशा मान्दा समस्या भएको जिकिर गरेका थापाले तुर्सा हेमरमहरु राजनीतिलाई समाज रुपान्तरणको मार्ग बनाउन लागि परेको स्मरण गरे ।
२०६५ सालमा स्थापना भएको तुर्सा हेमरम स्मृति प्रतिष्ठानले २०६८ सालबाट विधिवत रुपमा काम सुरु गरेको हो । प्रतिष्ठान भवन, सन्थाल बालबालिकाका लागि अध्ययन गर्ने विद्यालय र तुर्सा हेमरम संग्रहालय निर्माण गर्ने लक्ष्यका साथ काम भइरहेको बताइएको छ ।
कार्यक्रममा हेमरमका सहपाठी डिल्लीप्रसाद सिटौला, सुरेश बास्के, तुर्साका छोरा बडाराम हेमरम, निवर्तमान सांसद् सुधीरकुमार शिवाकोटी लगायतले बोलेका थिए । प्रतिष्ठान निर्माणका लागि मात्रिका सिटौला तथा उमा सिटौलाले जग्गा उपलब्ध गराएका हुन् ।