रमेशकुमार पौडेल

चितवन, १९ पुस। कान्दामा च्याउका कारण निम्तेको दु:खद कथा मात्र छैन, अब त्यहाँ चमत्कार गर्न सक्ने च्याम्पियनहरु पनि भेटिने छन्। कान्दा यस्तो विकट पहाडी गाउँ हो जहाँ सिमान्तकृत वर्गमा पर्ने आदिवासी समुदाय चेपाङको बाक्लै बसोबास छ। सदरमुकाम भरतपुरबाट धेरै नै टाढा र सडक सञ्जालबाट पनि पर रहेको सो गाउँको नाम ६७ सालको जेठमा एकाएक चर्चामा आयो। गाउँका बाबुराम चेपाङले जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा परिवारका आठजनाको ज्यान गयो। तरकारी नखाएका बाबुरामका नौ महिने नाती मात्रै बाँचे।

Advertisement

यस्तो पीडादायी घटना भएको कान्दाका साना बालबालिकाहरुले भने अहिले कमाल गरेका छन् । गाउँमा डेढ वर्षयता तेक्वान्दो सिक्दै आएका पाँचजना सोमबारदेखि इटहरीमा सुरु भएको अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा भाग लिन गए । इटहरी रंगशाला भित्रको नवनिर्मित कभर्ड हलमा सञ्चालित १२ औं इन्टरनेशनल ओपन फ्रेण्डशिप तेक्वान्दो च्याम्पियनसिपको पहिलो दिनकै खेलमा कान्दाली खेलाडीले स्वर्ण पदक जिते।

प्रतियोगिताका संयोजक राष्ट्र राईले जारी गरेको प्रेस विज्ञप्तीमा सो प्रतियोगितामा नेपालका मात्रै नभएर भारत, बंगलादेश, अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा, कम्बोडिया, अष्ट्रिया, मोरक्को, इथियोपिया, घाना र नाइजेरिया गरी १३ देशका तीन सयभन्दा धेरै खेलाडी सामेल थिए । कान्दा गाउँबाट तीन घण्टा हिँडेपछि गाडी चल्ने कच्ची बाटो पुगिन्छ । कच्ची बाटोमा तीन घण्टाको जीप यात्रापछि राजमार्ग भेटिन्छ।

यसरी यात्रा गर्दै कान्दाका मंगलसिंह प्रजा चेपाङ, बुद्धिबहादुर प्रजा चेपाङ, राममाया प्रजा चेपाङ, सावित्री तमाङ र विनोद मोक्तान प्रशिक्षक सुमन दाहालसँगै इटहरी पुगेका थिए। कक्षा ४ मा पढ्ने सावित्री तमाङले प्रतियोगिताको सुरु कै दिन प्रतिस्पर्धामा गरिन्। २९ देखि ३३ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी उनले काठमाडौं मुलपानी तेक्वान्दो डोजाङ र नेप्लिज तेक्वान्दो एकेडेमीका खेलाडीलाई पराजित गरिन्।

प्रतिस्पर्धीको पराजयसँगै आयोजकहरुले सावित्रीको गलामा स्वर्ण पदक भिराइ दिए । सावित्रीको गलामा मेडल परेसँगै प्रशिक्षक दाहालले धेरै कुरा सम्झे । ‘विषालु च्याउले गाउँमा गरेको त्यो विनास । उनीहरुको पुरानो दिनचर्या । त्यो दुरावस्था बदल्न गरेको संघर्ष । पहिलो पटक गाउँ पुग्दा भोगेको अवस्था । तोक्वान्दो सिकाउन सुरु गर्दाको क्षण’ इटहरीको त्यो भब्य भेलामा उनका दिमागमा यी सब फनफनी नाँचे।

मंगलबार प्रतियोगिता सकिदै गर्दा कान्दालीको पोल्टामा थप दुई पदक पनि परे । ३३ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका कक्षा ६ का विद्यार्थी बुद्धिबहादर प्रजा चेपाङले तेस्रो हुँदै कास्य पदक जिते । २९ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी कक्षा ५ मा पढ्ने राममाया प्रजा चेपाङले पनि कास्य पदक पाइन् । खेल्न आएकामध्ये मंगलसिंह र विनोद मोक्तान मात्रै पदक बिहिन भए।

‘तर जे भयो त्यो पनि चान चुने हैन। कान्दाको अवस्था जस्ले देखेको छ त्यस्तो विकट ठाउँबाट गएका खेलाडीले पनि पदक जित्नु त्यो पनि स्वर्ण पदक जित्नु भनेको एक हिसाबले ओलम्पिकमा स्वर्ण पदक नै जिते सरह हो नि’ प्रशिक्षक दाहालले भने । यातायात, विजुली, सञ्चार जस्ता आधारभुत सुविधाभन्दा धेरै पर रहेको सो ठाउँमा दरिद्रता कुन हदसम्म छ भन्ने कुरा छाक टार्न विषालु च्याउ खानु पर्ने बाध्यताले नै देखाउँछ।

च्याउ खाएर परिवारै सखाप भएको घटनापछि पत्रकारहरुले लगातार समाचार लेख्न थालेपछि गाउँको अवस्था बदल्न विभिन्न क्षेत्रका व्यक्तिहरु सक्रिय भए । यसै क्रममा कान्दा रुपान्तरणमा जोडिएका लक्ष्मी प्रतिष्ठानले त्यहाँ सुविधा सम्पन्न छात्रवास बनाएर विद्यार्थीलाई पढ्ने, खाने, बस्ने व्यवस्था मिलाएको छ । कान्दाका बालबालिकालाई तेक्वान्दो पनि लक्ष्मी प्रतिष्ठानले नै सिकाएको हो।

‘त्यस्तो दु:ख र आपतमा पिल्सिएको ठाउँमा हामीले विभिन्न मनकारीहरुसँग चन्दा उठाएर पढाइका साथ साथै अन्य अतिरिक्त क्रियाकलाप पनि गर्दै आएका छौं। तेक्वान्दोमा उनीहरुले पाएको सफल्ता देख्दा साह्रै हर्ष लागेको छ’ लक्ष्मी प्रतिष्ठानका विष्णु गौतमले भने।

सुमन दाहाल विस २०७३ सालको जेठमा गाउँ पुगेर प्रशिक्षण दिन सुरु गरेका हुन् । उनका अनुसार कान्दा डोजाङमा विभन्न तौल समूहका ४० जनाले प्रशिक्षण लिएका छन् । यसअघि ५४ र ५५ औं चितवन जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगितामा भाग लिएर त्यहाँका नौजना खेलाडीले कास्यपदक पाएका थिए।

यसअघि कान्दा डोजाङका बुद्धिबहादुर चेपाङ थाइल्याण्डमा हुने अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिन छनौट भएका थिए । तर काठमाडौंमा प्रशिक्षण लिइरहँदा हातमा चोट लागेपछि उनी सहभागि हुन असमर्थ भएका थिए । त्यो पिडा केही हदसम्म भए पनि इटहरीले बिर्साएको छ।

फाट्ट फुट्ट तमाङ र प्राय चेपाङ मात्र रहने सो गाउँमा कुनै बेला केटा केटीहरुले पेटभरी खान र पुरा आङ ढाक्न पनि पाउँदैन थिए। तर निरन्तरको मिहेनतले छाटो समयमै पनि ठूलो सफलता हात पारेर उनीहरुले कुनै बेलाको दु:खी आफ्नो गाउँलाई चम्काउने काम गरेका छन्। कान्दामा च्याउका कारण निम्तेको दु:खद कथा मात्र छैन, अब त्यहाँ चमत्कार गर्न सक्ने च्याम्पियनहरु पनि भेटिने छन्।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!