अमृत सुवेदी

पोखरा, १६ पुस । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले चुनावमा व्यहोरेको लज्जास्पद पराजयको प्रमुख कारण कमजोर संगठन भएको निश्कर्ष निकाल्दै अब पार्टी सुदृढीकरणमा लाग्ने घोषणा गरेका छन् ।

Advertisement

पोखरामा आइतबार भएको राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विशेष कार्यक्रमलाई सम्बोधन गर्दै बीपीपुत्र कोइरालाले आफूलाई पार्टीको नेतृत्व र प्रधानमन्त्री बन्नु नपरेको बन्दै आफ्ना पिताको पथमा रहेर पार्टीको संगठन सुदृढीकरणमा लाग्ने बताए ।

‘बिपीले बनाएको कांग्रेस संगठन धेरै तल झरिसकेछ,’ कोइरालाले भने, ‘हामीले हाम्रै संगठनलाई परिचालन गर्न सकेनौं ।’

आफ्नो पहिलो उद्देश्य पार्टी बनाउनु रहेको उनले सुनाए । ‘मलाई पार्टी अध्यक्ष बन्छु भन्ने छैन, प्रधानमन्त्री बन्छु भन्ने पनि छैन,’ कोइरालाले थपे, ‘मेरो मुख्य उद्देश्य भनेकै अब पार्टीलाई संगठित गर्ने हो, कांग्रेसलाई पुनः एक नम्बर पार्टी बनाउने हो ।’

जतिखेर पनि अरु पार्टीलाई वा गठबन्धनलाई मात्र दोष लगाउनुभन्दा सकारात्मक प्रतिपक्षको भूमिकामा कांग्रेस रहनुपर्ने उनले बताए ।

‘जे गर्दा पनि गाली नै गर्ने संस्कृतिबाट मुक्त बनौं, राम्रोलाई राम्रो भन्ने र नराम्रो गरे नराम्रै भन्ने गर्नुपर्छ हामीले, अब कांग्रेस सकारात्मक प्रतिपक्षको भूमिकामा हुन्छ, गाली गरेर मात्रै मुलुक सम्बृद्ध हुँदैन ।’

प्रचण्डलाई गठबन्धनबाट अलग्याउने प्रयास

महामन्त्री कोइरालाले गठबन्धनबाट माओवादी अलग्याउने प्रयास सुरु गरिएको पनि उदघोष गरेका छन् । उनले माओवादी अध्यक्ष प्रचण्डलाई अलग्याउन सकिन्छ भनेर केही दिनमा आफूले पहल सुरु गर्ने बताए ।

‘माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ज्यूलाई फेरि हामीले गठबन्धनबाट अलग्याउने हो कि भन्ने पनि कुरा उठेका छन्,’ कोइरालाले थपे, ‘साथीहरुले मलाई आग्रह गरेका छन्, दाहालज्युसँग कुरा गर्नुस् भनेर एकचोटी कुरा गर्नुपर्ला ।’

कुरा गर्दा पनि उनलाई गठबन्धनबाट अलग्याउने गरी कुरा गर्न पाएको खण्डमा कांग्रेसको रणनीति सफल हुन्छ भन्ने लागेको कोइरालाले बताए ।

चुनावी समीक्षा बैठक छिट्टै

कोइरालाले हप्ता दश दिनमै केन्द्रीय समितिले चुनावी समीक्षा गर्न वैठक डाक्ने बताएका छन् । ‘म आफैंले अध्यक्ष तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई समीक्षा बैठक बोलाउनुस् भनेको छु,’ कोइरालाले भने, ‘सायद हप्ता १० दिनमै समीक्षा बैठक बस्छ र हामीले एउटा रणनीति बनाउँछौं ।’

कांग्रेसले सिट संख्याका आधारमा हारेकोजस्तो देखिए पनि कांग्रेस कहिल्यै नहार्ने महामन्त्री कोइरालाको दाबी छ । संगठनलाई मजबुत बजाउन नसक्नु, रणनीति तयार गर्न नसक्नु, प्रत्यक्ष टिकट वितरण र समानुपातिकमा पनि गलत भएका कारण कांग्रेसले हार ब्यहोरेको उनको भनाइ थियो ।

जनतामाझ को परिचित छ, को शिद्धान्तमा अडिग छ, कसले योगदान पुर्‍याएको छ भन्ने कुरा हेरेरमात्र टिकट दिनुपर्नेमा त्यसो हुन नसकेको उनले स्वीकारे ।

‘हामीसँग मूल्यांकन गर्ने सामाथ्र्य एकदम कमजोर रहेछ, हामीले मूल्यांकन गर्नै सकेनौं,’ कोइरालाले भने । देशमा समृद्धि ल्याउन सक्ने हो भने कम्युनिस्ट यसै हराएर जाने उनको भनाइ थियो । पार्टीको संगठन धेरै हदसम्म तल गिरिसकेको कोइरालाले बताए ।

नेतृत्वमाथि खनिए कास्कीका नेता

कास्की कांग्रेसका नेताहरु केन्द्रीय नेतृत्वप्रति आक्रोशित बनेका छन् । कार्यक्रममा बोल्ने नेताहरुले पार्टी नेतृत्वकै कारण कांग्रेस आज यो अवस्थामा आइपुगेको भन्दै आक्रोशित बने । नेता शुक्राराज शर्माले कांग्रेसले शिद्धान्त बुझाउने गरी कार्यक्रम जनतासामु लैजान नसकेकै कारण हार ब्यहोरेको बताए । ‘जोसँग शिद्धान्त छैन, जोसँग विचार नै छैन हामीले यसैलाई बोकेर हिँड्यौं,’ नेता शर्माले भने, ‘कांग्रेसको अहिलेको चुनावी हार नेतृत्वको अयोग्यताको परिणाम हो ।’

कांग्रेस क्षेत्रीय नेता माधव बास्तोलाले चुनावमा शर्मनाक नतिजा आउँदा पनि नेतृत्वले एकपटक समीक्षा नगर्नु, कुनै मूल्यांकन नगर्नुबाटै नेतृत्वको क्षमता थाहा हुने बताए । ‘एक दिनको घटनाले कांग्रेस यो स्तरसम्म गिरेको होइन, हामीले निरन्तरले जनताको मन जित्ने र रणनीतिक कार्यक्रम लिएर जानै सकेनौं,’ बास्तोलाले भने, ‘तत्काल नेतृत्वले समीक्षा गरोस् र कांग्रेसलाई बचाउने काम गरोस् ।’ कांग्रे पद्दति भुलेर कमिसनमा हिँडिरहेको उनले आरोप लगाए ।

कांग्रेस महाधिवेशन प्रतिनिधि देवराज चालिसेले जसनदिनदेखि कांग्रेसले बिपीको बाटो छाड्यो त्यहि दिनदेखि पतको बाटोमा हिँड्न सुरु गरेको बताए । कमिसनको राजनीतिमा कांग्रेस हिँडेको उनले पनि आरोप लगाए । ‘अहिले कांग्रेस नीतिमा जिरो भयो । रणनीतिमा पनि फेल छ,’ नेता चालिसेले भने, ‘आत्मकेन्द्रीत राजनीतिले पार्टीलाई सिध्याउँदै छ ।’ सिद्धान्त र विचारले चल्नुपर्ने पार्टी व्यक्तिले चलाएको उनको आरोप थियो । नेतृ शारदा पौड, पुराना नेता खेमराज पौडेलले पनि नेतृत्वले बेलैमा सोच्ने बेला आएको बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!