काठमाडौं, १६ पुस। ‘आहा, सफा भएछ पशुपतिनाथ क्षेत्र त’, शनिबार पशुपतिनाथ दर्शनका लागि पुगेका काठमाडौँको हाँडीगाउँका रामचन्द्र अर्यालले भने ।

Advertisement

ब्रम्हनालपट्टिबाट मन्दिर उक्लिएका उनले मन्दिरका तामाका पाला परबाटै टल्किएको देखेपछि यस्तो प्रतिक्रिया दिएका हुन् । करिब ४० वर्षदेखि प्रायः दैनिक पशुपतिनाथ दर्शनमा जानुहुने ७३ वर्षीय अर्याल शनिबार भने दुई महिनापछि पुगेका थिए ।

शनिबार बिहानै पशुपति दर्शनमा पुगेका बबरमहलका महेश अधिकारी भन्दै थिए, ‘मैले त जुत्ता चप्पल खोल्ने ठाउँदेखि नै सफा भएको महशुस गरेको हो, यी हेर्नुस् त मन्दिर उक्लिने सिँडीहरु टल्किएका छन्, भुइँमा कतै पनि धुलो या फोहरका पातपतिंगर देखिँदैन, माथि मूल मन्दिर परिसरको त झन कुरै भएन, चारैतर्फका मूर्ति र बसाहा झलझली बलेका र उज्याला छन्– कतै बोल्लान झैँगरी ।’

साँच्चिकै यतिखेर पशुपतिनाथ क्षेत्रको मुहार फेरिएको छ । बाग्मती किनारदेखि माथि मन्दिर र कैलाश चौरमुनिको भूभागमा धुलो, फोहर केही छैन भने साना मठ र संरचनामा पनि निकै चमक आएको छ । त्यसैले यतिखेर पशुपति क्षेत्रमा सरसफाइले रौनक छाएको छ । अर्याल भन्छन्, ‘मैले कम्तीमा चार दशक पशुपतिनाथको दर्शन गरेर बिताएँ तर अहिलेजस्तो सफा यसअघि कहिल्यै पाएको थिइनँ ।’

मूल मन्दिरको उत्तरपूर्वमा रहेको सत्तलको सिँडीमा पुसको जाडोमा पनि एउटा सामान्य कमिज लगाएर ढुंगाको छपानी घोट्दै छन् सफाइ मजदुर कुशल अधिकारी । उनी यो सफाइ कार्यको ‘सुपरभाइजर’ भए पनि अधिकांश आफैँ नै सफा गर्ने काम गर्छन् । कस्तो लागिरहेको छ पशुपतिनाथ क्षेत्रको सफाइ भन्ने प्रश्नमा उनले भने, ‘जीवनमा यस्तो खुशीको अनुभव कहिल्यै भएको थिएन, अझ दर्शनार्थीले गरेको मायाको त झन कुरै नगरौँ ।’

पशुपति क्षेत्रमा करिब तीन महिनादेखि सफाइको काम जारी छ । यो कसले र कसरी गरिरहेको छ भन्ने जिज्ञासा यहाँ पुगेका हरेक भक्तजनले राख्ने गरेका छन् । अधिकांशको भनाइ हुने गर्दछ, गरे के हुँदैन र, बाग्मती अहिले यस्तो सफा भयो अब भने पशुपति क्षेत्रले पनि मुहार फेर्ने भयो ।’

पशुपति क्षेत्रमा जारी सफाइबारे पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाल भन्छन्, ‘यो सरसफाइ खाली कुचो लगाउने र धुलो बढारेर छोड्ने मात्र होइन, अब सधैँका लागि हामी निरन्तरता दिने योजना बनाएका छौँ ।’

सरसफाइमा विशेषज्ञता हासिल गरेको र अष्ट्रेलियामा मुख्यालय रहेको कम्पनी खेम्स क्लिनिङले यो सफाइको काम करिब तीन महिनायतादेखि गरिरहेको छ । अहिलेसम्म उसले स्वयंसेवीका रुपमा पशुपति क्षेत्रको सफाइ गरिरहेको छ । यहाँ सो कम्पनीका ३७ जना सफाइ मजदुरले चौबीसैँ घण्टा काम गर्छन् । अहिलेलाई एक वर्षका लागि भनेर यो सफाइको काम शुरु गरिएको हो ।

उक्त कम्पनीले यसअघि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको सफाइ गरेको थियो । नेपालका केही विमानस्थल, तीर्थस्थल, पर्यटकीयस्थल र सम्पदाको सफाइको काम सो कम्पनीले गरिरहेको छ ।

सोही विमानस्थलको सफाइको चर्चा सुने पछि आफैँले गई सो सफाइ कार्य हेरेर उक्त कम्पनीका खेम शर्मासँग अनुरोध गरी सारा हिन्दूहरुका आराध्यदेव पशुपतिनाथ क्षेत्रको सफाइका लागि अनुरोध गरेको र सोही कम्पनीले अहिलेसम्म सफाइ कार्य जारी राखेको डा ढकाल बताउँछन् । उनले भने, ‘उहाँहरुको कामदेखि कोष निकै प्रभावित छ, स्वयंसेवी रुपमा उहाँले यो पवित्र भूमिमा यस्तो पवित्रता थपिदिनुभएको छ कि अब हामी सबै मिलेर यो गुणस्तरलाई घट्न नदिई दिगो बनाउनु जरुरी छ ।’

उक्त खेम्स क्लिनिङका अध्यक्ष खेम शर्माले आफूले विमानस्थलमा प्राप्त गरेको सफलता र सबै नेपाली दाजुभाइ दिदी बहिनीको मायाले पशुपति क्षेत्रमा सफाइका लागि प्रेरणा मिलेको बताए । ‘म अष्ट्रेलियाबाट नेपाल सफा गर्न आएको हुँ र विमानस्थलबाट प्रवेश गरेपछि जसरी सबै नेपाली विदेशबाट आएपछि पशुपति क्षेत्रमा जान्छन्, म पनि त्यहीँ पुगेको हुँ, यो पुण्यभूमिको सफाइले मलाई अत्यन्तै ठूलो खुशी प्राप्त भएको छु,’ उनले भने ।

अहिलेसम्म स्वयंसेवी रुपमा उनले यो काम गरिरहेका छन् । अध्यक्ष शर्मा भन्छन्, ‘बाग्मती सफाइ अभियान्तासँग मिलेर मैले यो कार्यलाई निरन्तरता दिन सकेको छु ।’

उनको यो कार्य देखेर काठमाडौँका एक बैंकले वर्ष दिनका लागि केही मजदुरको ज्यालाका लागि सहयोग गर्ने वाचा गरेको छ र केही दिनपछि त्यस सहयोग सम्झौतामा हस्ताक्षर पनि हुने भएको छ । तर मलाई मैले कति लगानी गरेँ भन्नुभन्दा पनि पशुपतिनाथ क्षेत्रजस्तो पवित्र स्थानलाई सफा गर्ने काममा यतिधेरै सफलता मिल्नु र बाग्मती सफाइका अभियन्ताका साथै कोष र सबै भक्तजनबाट यति धेरै माया प्राप्त हुनुलाई जीवनको एउटा ठूलो सफलताका रुपमा हेरेको उनको भनाइ छ ।

बाग्मती सफाइका एकजना अभियन्ता तथा अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य माला खरेल भन्छन्, ‘अहिले पशुपतिनाथ क्षेत्रभित्र निकै सफा भएको छ, अहिले नै एक हिसाबले भन्ने हो भने पशुपतिनाथ मन्दिर परिसर धुलोरहित बनेको छ ।’

‘पशुपति परिसर तथा आर्यघाटतर्फ पनि ढुंगा खिया परेको थियो भने भुइँमा रहेको चिप्लो मयल र कालो पैतालामा टाँसिने गथ्र्यो तर अहिले त्यस्तो छैन, सबैतिर सफा भएको छ । यसलाई आगामी दिनमा निरन्तरता दिनुपर्छ भनेर हामी लागि परेका छौँ’, उनले भने ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!