काठमाडौं, १२ पुस । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बुधबार दिउँसो भेटबार्ता भएको छ ।
ओली निवास बालकोटमा भएको भेटमा अध्यक्ष प्रचण्ड र ओलीबीच पार्टी एकता, सरकार गठन, राष्ट्रिय सभा अध्यादेश लगायतका विषयमा कुराकानी भएको प्रचण्डका प्रेस संयोजक मनहरी तिमल्सिनाले जानकारी दिए ।
भेटमा अध्यक्षद्वय प्रचण्ड र ओलीबीच निकै सौहार्द वातावरणमा छलफल भएको थियो।
छलफलमा जनताले नयाँ जनादेश दिएको परिस्थितिमा वर्तमान सरकारले नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्नुपर्ने विषयमा दुई अध्यक्षबीच बीच कुराकानी भएको तिमल्सिनाले बताए ।
निर्वाचन आयोगले समेत नयाँ सरकार गठनका विषयमा वातावरण सहज बनाउनुपर्ने बारे पनि नेताहरु बीच कुराकानी भएको थियो ।
दुई अध्यक्ष बीच राजनीतिक वातावरण सहज बनाएर पार्टी एकतालाई अघि बढाउने समझदारी भएको छ।
१–२ दिनमै संयोजन समितिको बैठक बोलाएर पार्टी एकताको प्रक्रिया अघि बढाउने प्रचण्ड र ओलीबीच समझदारी भएको छ।
भावी प्रधानमन्त्रीका विषयमा खासै विवाद नभएपनि एकीकृत पार्टीको अध्यक्ष र सरकारको नेतृत्व आलोपालो गर्ने, नगर्ने तथा कस्तो वैचारिक संगठनात्मक आधारमा एकता गर्ने भन्नेमा नेताहरुबीच फरक फरक धारणा आउँदा पार्टी एकताबारे केही भ्रम र अन्योलसमेत सिर्जना भएको अवस्थामा आजको भेटले त्यसलाई चिर्ने काम गरेको बुझिएको छ ।
मुलुकलाई समृद्धि र समाजवादतर्फ उन्मुख गराउन एउटै कम्युनिष्ट पार्टीको आवश्यकताबोधसहित गत असोज १७ गते एमाले र केन्द्रले एकता र तालमेलको घोषणा गरेका थिए ।
दुई दलले पार्टीको साझा दस्तावेज, विधान र संगठनात्मक खाका कोर्न अलगअलग कार्यदल पनि गठन गरेका छन् ।
हिजो चितवनको ४ दिन लामो चितवन बसाई सकेर प्रचण्ड काठमाडौं फर्किएका थिए । हिजै दुई अध्यक्षबचि भेट हुन बताइएपनि आजै मात्रै भएको हो ।