
मकवानपुर, ११ पुस । प्रहरीले विभिन्न जिल्लामा गरेको सवारी जाँचका क्रममा चार जनालाई पक्राउ गरेको छ । मंगलबार मकवानपुर, रौतहट, बागलुङ लगायतका जिल्लाहरुबाट चार व्यक्ति पक्राउ परेका हुन् ।
मकवनापुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित चेकपोष्टमा सवारी साधन जाँच गर्ने क्रममा उदयपुरतर्फ जाँदै गरेका १९ वर्षीय सुमन जिम्बा पक्राउ परेका छन् । ना.६ ख २३०४ नम्बरको बसमा सवार जिम्बालाई ६ किलो ५ सय ग्राम लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिम्बा उदयपुर मनहरी गाउँपालिका–६ का नागरिक भएको प्रहरीको दाबी छ । त्यस्तै, रौतहटको गौर नगरपालिका–१ स्थित भन्सार सुरक्षा गार्ड कार्यालय अगाडि जाँच गर्ने क्रममा महोत्तरीको मनरा बस्ने नितेश सिंह केही सामानसहित पक्राउ परेका छन् ।
मोटरसाइकलमा सबार सिंहबाट नुफिन ४१ एम्पुल, फेनारगन ४९ एम्पुल, डाइजेपाम ५२ एम्पुल र नाइट्रोभेट ट्यावलेट ७२ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, बागलुङ निसिखोला गाउँपालिका–४ झिवाखोला बजारमा सवारी साधन जाँचकै क्रममा खिमबहादुर घर्ती पक्राउ परेका छन् । तीस वर्षीय घर्तीमगरको झोलाबाट ५ केजी लागू औषध बरामद गरिएको प्रहरीले जनाएको छ । उनी निसिखोला गाउँपालिकाकै बासिन्दा भएको प्रहरीले जनाएको छ ।















