
तनहुँ, ११ पुस । तनहुँ जिल्लाकै ठूलो दमौली अस्पताल केही दिनयता असुरक्षित बन्दै गएको छ। अस्पताल हाताभित्रै रहेका सामग्री चोरी हुने क्रम बढ्दै गएर असुरक्षित भएको हो।
अस्पतालको तारजालीभित्र रहेको फार्मेसीबाट विभिन्न सामग्रीहरु चोरी भएको छ। अस्पतालको करिब ८० हजार बराबरको सामग्रीहरु चोरी भएको जिल्ला अस्पतालका प्रशासन सहायक अमर भण्डारीले जानकारी दिए।
‘यसअघि अस्पतालको सामग्रीहरु छिटफुट रुपमा हराइरहेको भए पनि बाहिर नआएको तर विस्तारै सानाबाट ठूला चोरी हुन थालेको छ,’ उनले भने। अस्पताल हाताभित्र रहेको फार्मेसीको कम्प्युटर १ थान र भित्तेघडी १ थान सोमबार राति चोरी भएको अस्पतालले जनाएको छ।
फार्मेसीको कम्प्युटर चोरी भएपछि औषधि विक्री वितरणमा समेत समस्या सिर्जना भएको छ। अस्पतालको हाताभित्र कर्मचारीको पार्किङ्ग गरेर राखिएको साइकल समेत चोरी भएको बताइएको छ।
ठूलै धनमालको चोरी भएपछि अस्पतालले जिल्ला प्रहरी कार्यालय तनहुँमा जानकारी गराएको हो। चोरीको घटनामा संलग्न व्यक्तिहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
अस्पतालमा अहिले सिसीटिभी आवश्यकता महसुस गरिएको छ। यदि अस्पतालमा सिसीटिभी जडान गरिएको भए अस्पतालको हाताभित्रको सामग्रीको चोरीमा संलग्नहरुलाई पक्राउ गर्न सहज हुने प्रहरीले अनुमान गरेको छ।
एक्सरे मेसिन बिग्रँदा सेवाग्राही मर्कामा दमौली अस्पतालको एक्सरे मेसिन बिग्रँदा सेवाग्राहीहरु मर्कामा परेका छन्। सरकारी अस्पतालमा ग्रामीण भेग, छिमेकी जिल्लाहरुबाट स्वास्थ्य परीक्षणमा आउने सेवाग्राहीहरु प्रभावित भएका छन्।
अस्पतालको एक्सरेबाट सस्तो मूल्यमा सेवा लिन पाउने भए पनि मेसिन बिग्रँदा महँगो शुल्क तिरेर निजी अस्पताल र क्लिनिकमा एक्सरे गर्ने गरेका छन्। करिब १५ दिन अघिदेखि बिग्रिएको एक्सरे मेसिन १०० एम.भि.ए.को एक्सरे मगाए पनि हालसम्म अस्पतालमा आइनपुगेको अस्पतालले जनाएको छ।















