गोरखा, ७ पुस ।  गोरखाको भिमसेन गाउँपालिकाका अध्यक्ष र कार्यकारी अधिकृतबीचको विवादले गाउँपालिकाको काम नै प्रभावित बनेको छ । एकअर्काको काम र निर्णयप्रति समर्थन नहुँदा कामकाज प्रभावित भएको हो ।

अध्यक्ष इश्वर पाण्डे र कार्यकारी अधिकृत श्यामकृष्ण पौडेलबीचको टसलका कारण स्वास्थ्य र पशु क्षेत्रको कार्यक्रमका लागि बजेट विनियोजन हुन सकेको छैन । गाउँपालिका भित्रका स्वास्थ्य संस्थाका लागि आवश्यक औषधि खरिद नहुँदा औषधि अभाव छ । बिकास निर्माणका बिभिन्न योजनामा सम्झौता हुन सकेको छैन । जसका कारण बिकास बजेट खर्चको प्रतिशत न्यून छ ।

Advertisement

अध्यक्ष र कार्यकारीबीच कसरी दुरी बढ्यो ?

केही समय अघि गाउँपालिका अध्यक्ष पाण्डेले गाउँपालिकाका लागि गाडी किन्ने तयारी गरे । टेण्डर समेत आह्वान भयो । त्यसबेला कार्यकारी अधिकृत अर्कै थिए । सम्झौता हुन बाँकी थियो । शोरुममा गाडी नभएकाले किन्ने काम केही दिन पर सर्‍यो ।

त्यसलगत्तै कार्यकारी अधिकृत सरुवा भए र श्यामकृष्ण पौडेल नयाँ कार्यकारी अधिकृतको रुपमा आए । नयाँ आएका कार्यकारी पौडेलले गाडी मन्त्रालयले दिन्छ भन्दै गाडी नकिन्न सुझाव दिए । ‘सबै प्रक्रिया सकेर गाडी किन्ने अन्तिम तयारी भइसकेको थियो तर नयाँ कार्यकारी आएर मन्त्रालयले दिन्छ भन्दै गाडी किन्न मान्नुभएन,’ गाउँपालिका अध्यक्ष पाण्डेले अनलाइनखबरसँग भने ।

दशैंको समयमा गाउँपालिका अन्तरगतका कच्ची सडक मर्मत गरेको रकम समेत कार्यकारीले रोक्का गरिदिएको पाण्डेको आरोप छ । ‘दशैंको समयमा गाउँसभाले निर्णय गरेर गाउँपालिका अन्तरगतका बिभिन्न वडामा डोजर लगाएर सडक मर्मतको काम गर्‍यौं, तर इन्जिनियरको हस्ताक्षर चाहिन्छ भनेर अहिलेसम्म पैसा रोक्का गर्नुभएको छ,’ पाण्डेले भने ।

बिज्ञापन नगरी करारका कर्मचारीलाई म्याद थप गरेको भन्दै उनीहरुको तलव समेत कार्यकारीले रोक्का गरिदिएको पाण्डेले बताए ।

कार्यकारी अधिकृतले आवश्यक समन्वय नगरेको पाण्डेको आरोप छ । ‘कुन बेला कहाँ जानुहुन्छ थाहा हुन्न, धेरै दिन भइसक्यो अफिस छाड्नुभाको कहिले आउने हो थाहा छैन, फोन उठाउनुहुन्न, भेटघाट पनि छैन, उहाँ नभएर धेरै काम अड्केको छ,’ पाण्डेले भने ।

कार्यकारी अधिकृत के भन्छन् ?

कार्यकारी अधिकृत पौडेलले भने आफू नियमित कार्यालय गएको तर कात्तिक महिनाबाट अध्यक्ष नआएको बताए । अध्यक्षको अभावमा गाउँपालिकाको बैठकसमेत बस्न नसकेको पौडेलको भनाइ छ । ‘कात्तिक महिनादेखि अध्यक्ष कार्यालय आउनुभएको छैन, बैठक बस्न पनि पाएका छैनौं, बैठक नबस्दा गाउँपालिकाको काम कारवाही प्रभावित भएको भनेर सबै वडा अध्यक्षहरुलाई खवर पनि गरिसकेको छु,’ कार्यकारी अधिकृत पौडेलले अनलाइनखबरसँग भने ।

गाडी किन्नका लागि टिप्पणी आदेश आवश्यक पर्ने उनले बताए । ‘गाडीको टिप्पणी आदेश पेश गरेको धेरै भइसक्यो तर अहिलेसम्म अध्यक्षले केही प्रतिक्रिया दिनुभाको छैन,’ पौडेलले भने ।

दशैंको समयमा मर्मत भएका सडकको रकम भुक्तानीका लागि प्राविधिकको स्टिमेट आवश्यक पर्ने उनले बताए । ‘प्राविधिकको स्टिमेट नल्याइ रकम भुक्तानी गर्न मिल्दैन, अहिले स्टिमेट तयार गर्ने काम भइरहेको छ त्यो भएपछि प्रक्रिया अगाडि बढ्छ,’ कार्यकारी अधिकृत पौडेलले भने ।

करारका कर्मचारीलाई तलव निकासा भइरहेको उनले दावी गरे । तलव निकासाका लागि काम गरेको सम्बन्धित वडाको पत्रसँगै खाता खोल्न उनले करारका कर्मचारीलाई सुझाव समेत दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!