
काठमाडौं, १ पुस । विज्ञहरुले नेपाली बीमा बजारमा प्रतिष्पर्धाको नाममा अनेकौ विकृति भित्रिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
विश्वव्यापी रुपमा विमाका नयाँ प्रविधि र तरिका आईरहेका बेला नेपाली बजारमा प्रतिष्पर्धाको नाममा विकृतिहरु भित्रिएको र ती विकृति विस्तारै संस्थागत हुदै गएको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका हुन् ।
शनिबार राजधानीमा विमा समिति र नेपाल वित्तिय संस्था कर्मचारी संघले संयुक्त रुपमा गरेको विमा क्षेत्रको विकास र स्थायित्व विषयक अन्र्तरक्रियामा सहभागी विज्ञले बीमा कम्पनी र विमित दुवैका लागि बजारमा देखिएका विकृति मुख्य चुनौति रहेको बताए ।
राष्ट्रिय विमा संस्थानका पुर्व कार्यकारी प्रमुख आश्विनी कुमार ठाकुरले बजार प्रतिस्पर्धा अवसर र चुनौति दुवै भएको भन्दै प्रतिष्पर्धाको रुपमा विभिन्न विकृतिहरु आएका र ती प्रणाली नै बनिसकेको भन्दै चिन्ता व्यक्त गरे ।
राष्ट्रिय विमा संस्थानका पुर्व कार्यकारी प्रमुख ठाकुरले विमा समितिले बनाएको लगानी नितिका कारण अर्थतन्त्रको मुल प्रवाह र भुमिकामा विमा कम्पनिहरु आउन नसकेको बताए । नितिले लगानीको क्षेत्रलाई अध्याधिक सिमित गरेकाले समस्या भएको उनको भनाई थियो ।
कार्यक्रममा अर्थमन्त्रालयका सह सचिव उदयराज सापकोटाले विमाको उपादेयता र लाभका बारेमा जनस्तरसम्म जनचेतना फैलाउनुपर्ने बताए । देशको आर्थिक स्थिति माथि नपुगेन्जेल बिमा बजारको विकास हुन नसक्ने भएपनि विमाको नया आयाम र योजनामार्फत बजार विस्तार गर्न सकिने उनले बताए ।
कार्यक्रममा सरोकारवालाहरुले विमा सम्बन्धी नीति निर्देशिकाको प्रभावकारी कार्यान्वयन, विमा व्यवसाय अभिवृद्धिका लागि राज्यले प्रोत्साहन नीति ल्याउनुपर्ने, लाइसेन्स नीतिमा देखिएको जटिलतालाई सरल बनाउनुपर्नेमा जोड दिएका थिए ।















