झापा, २७ मंसिर । प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले) कि पवित्रा निरौला खरेल मेचीबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने एक्ली महिला बन्नुभएको छ । मंसिर २१ गते सम्पन्न निर्वाचनमा झापा क्षेत्र नम्वर २ बाट उहाँ निर्वाचित हुनुभएको हो ।

Advertisement

यो संगै उहाँले नेपाली कांग्रेसका उम्मेद्वार उद्धव थापालाई पराजय गर्दै प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने यात्रा तय गर्नुभएको छ । प्रतिनिधि सभाको निर्वाचनमा आफ्ना निकटतम प्रतिष्पर्धी थापालाई १३ हजार ७ सय ६७ मतले पराजित गर्दै उहाँ निर्वाचित हुनुभएको हो । उहाँले ४५ हजार ८ सय १७ मत प्राप्त गर्नुभयो भने थापाले ३२ हजार ५० मत प्राप्त गर्नुभएको थियो ।

नेकपा (एमाले)को १ नम्बर प्रदेश सदस्यको जिम्मेवारीमा रहनुभएकी पवित्रा तीन दशकयता झापामा रहेर सक्रिय राजनीति गरिरहनुभएको छ । निरंकुश राज्य सत्ताको दवदवामा आफूलाई जोगाउन समेत हम्मेहम्मे परेका बेला पनि राजनीतिमा उहाँ उत्तिकै सक्रिय हुनुहुन्थ्यो ।

२०३६ सालमा स्वतन्त्र विद्यार्थी युनियनको कोषाध्यक्षबाट प्रारम्भ भएको पवित्राको राजनीतिक यात्रा यतिबेला प्रतिनिधिसभा सदस्यमा पुगेको छ । २०३६ सालमा स्वतन्त्र विद्यार्थी युनियनमा रहँदा विद्यार्थी युवा दस्ताको एउटा दरिलो सिपाही पवित्राको फराकिलो आत्मविश्वास र दृढताले राजनीतिक यात्रामा कुनै न कुनै जिम्मेवारी सम्हाली रहनुभयो ।

२०३८ सालमा अखिल नेपाल महिला संघको गाउँ समिति सदस्य हुँदै उहाँको राजनीतिक यात्राले गति लियो । २०४० सालमा अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा दमकमा आयोजित समीक्षा बैठकस्थलबाटै उहाँ पक्राउ परेपछि तीन वर्ष जेल पर्नुभयो ।२०५४ सालमा जिल्ला विकास समिति झापाको मनोनित सदस्य भएर उहाँले काम गरिसक्नुभएको छ ।

बिर्तामोड खानेपानी तथा सरसफाई समितिमा पवित्राले १० वर्ष बसेर काम गरिसक्नुभएको छ । २०६६ सालमा नेकपा (एमाले)को जिल्ला कमिटी सचिवको जिम्वेवारी सम्हाल्नु भएको पवित्रा निरन्तर पार्टीमा क्रियाशील हुनुहुन्छ । त्यसयता उहाँले पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य बनेर काम गर्नुभएको छ भने अनेमसंघको केन्द्रीय सदस्य भएर भूमिका निर्वाह गरिसक्नुभएको छ ।

संविधानसभाको दोस्रो निर्वाचनमा यसै क्षेत्रबाट उहाँ नेपाली कांग्रेसको उम्मेद्वारसंग पराजित हुनुभएको थियो । कांग्रेसका उम्मेद्वार सुधीरकुमार शिवाकोटीले उहाँलाई थोरै मतान्तरले त्यो बेला पराजित गर्नुभएको थियो । छविलाल र खड्गमाया निरौलाकी छोरी पवित्राको जन्म २०२० साल माघ २० गते झापाको दमकमा भएको हो । उहाँले आईएसम्मको अध्ययन गर्नुभएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!