चितवन, २६ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि मंगलबारदेखि मतदातालाई धन्यवाद ज्ञापनका लागि घरदैलो अभियान सुरु गरेका छन्।

Advertisement

वाम गठबन्धनको सो क्षेत्रको निर्वाचन परिचालन समितिका संयोजक सूर्य सुवेदीअनुसार शिवनगरस्थित आफ्नै निवास रहेको महेन्द्र चोकबाट शुरु भएको अभियान फूलबारी, मंगलपुर, विजयनगर, रामपुर चनौली, ज्योतिनगर, पर्साढाप, गोलाघाट, लेबरनगर, शुक्रनगर हुँदै आज साँझ पार्वतीपुरको लाहुरेचोकमा आएर समापन हुँदैछ। बुधबार सोही क्षेत्रको माडी र भरतपुर महानगरपालिकाका जगतपुर, पटिहानी, गीतानगर, चोकबजार, गौरीगञ्ज हुँदै केन्द्रीय बस ट्रमिनलमा आएर अभियान समापन हुँदैछ।

संयोजक सुवेदीका अनुसार गाडी नरोकीकनै दाहालले गाडी माथिबाट सबैलाई आभार प्रकट गर्ने कार्यक्रम तय गरिएको छ।  मतदातालाई सडकमा नै गाडीमाथिबाट उनले धन्यवाद दिइरहेका छन्।

सो क्षेत्रमा समर्थकले फूलमाला र पानीका घडा राखेर दाहाललाई स्वागत गरेका छन्। वाम गठबन्धनको सो क्षेत्रका प्रचार संयोजक सुरेशचन्द्र अधिकारीका अनुसार विजय पदयात्रामा दाहालसँगै सो क्षेत्र (क) प्रदेशबाट निर्वाचित नेकपा (एमाले)का कृष्ण भूर्तेल र (ख) प्रदेशबाट निर्वाचित नेकपा (माओवादी केन्द्र)का रामलाल महतो पनि सहभागी भएका छन्।

आफू हुर्किबढेको ठाउँमा दाहाल पहिलो पटक निर्वाचन लड्न आएका थिए। उनले राप्रपा(प्रजातान्त्रिक)का उपाध्यक्ष विक्रम पाण्डेलाई ९ हजार ३२३ मतले पराजित गरेका थिए। दाहालले ४८ हजार २७६ मत प्राप्त गरेका थिए भने पाण्डेले ३८ हजार ९३५ मत प्राप्त गरेका थिए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!