काठमाडौं, २६ मंसिर । विवादका कारण अवरुद्व भएको सुनसरी क्षेत्र नम्बर ३ को मतगणना अझैं शुरु हुन सकेको छैन ।
निर्वाचन आयोगले पुन मतगन्न निर्देशन दिएपनि एमालेको अवरोधका कारण शुरु हुन नसकेको हो ।
निर्वाचन आयोगको मंगलबार तत्काल मतगणना सुरु गर्न निर्देशन दिएपनि एमाले कार्यकर्ताले धाँधली भएको दाबी गर्दै मतगणनास्थल बाहिर नाराबाजी गरिरहेका छन् ।
सोमबार मतगणनाका क्रममा नोट भेटिएको तथा मतपत्रमा काटिने भागसमेत फेला परेको भन्ने विषयमा उत्पन्न विवाद भएपछि मतगणना स्थगित भएको थियो ।
विवादमा वाम गठबन्धनका उम्मेदवार नेकपा एमाले नेत्री भगवती चौधरी र नेपाली काँग्रेसका उम्मेदवार नेता उपप्रधानमन्त्री विजयकुमार गच्छदारबीच एकापसमा धाँधलीको घोचपेच चलिरहेको छ ।
विवादबीच एमाले र काँग्रेस नेता कार्यकर्ताबीच पटक पटक झडपको स्थिति समेत पैदा भइरहेको छ ।
पछिल्लो मतगणनाको सार्वजनिक नतिजानुसार चौधरीले २९ हजार ३२६ र गच्छदारले भगवतीभन्दा १५५ मत कम अर्थात् २९ हजार १७१ मत प्राप्त गरेका छन् ।