महेन्द्रनगर, २५ मंसिर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा तर्फ बामगठबन्धनका उम्मेदवार नरबहादुर धामी फराकिलो मतअन्तरले निर्वाचित भएका छन् ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री समेत रहेका काँग्रेस नेता एनपी साउँदलाई ८ हजार ३ सय २७ मत अन्तरले पराजित गर्दै धामी निर्वाचित भएका हुन् ।
धामीले ३३ हजार २ सय २० मत प्राप्त गरे भने साँउदले २४ हजार ८ सय ९३ मत प्राप्त गरे । धामी यसअघि २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा निर्वाचन क्षेत्र नम्बर ३ मा काँग्रेसका बहादुर थापासंग पराजित भएका थिए ।
विद्यार्थी राजनीतिका समयमा कञ्चनपुरमा चर्चित छवि बनाएका विद्यार्थी नेता धामी अनेरास्ववीयुको केन्द्रिय कोषाध्यक्षसम्मको जिम्मेवारी बहन गरिसकेका छन् ।
निर्वाचित भएपछि प्रतिक्रिया दिदै नवनिर्वाचित साँसद धामीले आफूले जनताका पक्षमा सधै काम गर्ने बताए । ‘मलाई ठूलो विश्वास गरेर जनताले निर्वाचित गरेका छन्’ उनले भने,‘ अहिलेसम्म यस क्षेत्रका प्रतिनिधिहरुले गर्न नसकेको काम गरेर देखाउने छु’ ।
उनले निर्वाचनका समयमा जनतासामु गरेका प्रतिबद्वता पुरा गर्नेतर्फ आफ्नो ध्यान केन्द्रित हुने बताए ।