मोरङ, २४ मंसिर । बाम गठबन्धनबाट साझा उम्मेदवार जीवन आचार्य प्रदेशसभा निर्वाचनमा पराजित भएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका ज्वाइँ समेत रहेका आचार्य मोरङको निर्वाचन क्षेत्र नम्बर ६ (क) बाट पराजित भएका हुन् । यसअघि, कैलाली – ५ मा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा पनि पराजित भएकी थिइन् ।
आचार्यले २१ हजार ४७० मत ल्याउँदा नेपाली काङ्ग्रेसका चुमनारायण तबदार २३ हजार ५१३ मत ल्याएर विजयी भए ।
पराजयपछि आचार्यले आफ्ना मतदाताहरुलाई धन्यावद दिँदै आगामी दिनमा पनि सामाजिक काममा नै लाग्ने बताएका छन् ।
उनले लेखेका छन्,
निर्वाचन प्रकृयामा हार वा जीत सामान्य हुन्छ, म यो परिणामवाट कत्ति पनि विचलित छैन, तपॉईहरुले देखाएको मॉया, प्रेम र स्नेह ले झन मलाई सामाजिक काम गर्ने प्रेरणा मिलेको छ र आगामी दिनमा पनि म तपॉईहरुकै विचमा हुने वाचा गर्दछु। विकास निर्माणको क्षेत्रमा “भरियो अनि हरियो” लगायतका मेरा नाराहरु पुरा गर्नका निमित्त मेरो पहल कदमी मा कुनै कमि हुनेछैन। निरन्तर सहयोग समर्थन अनि उत्कृष्ट मतका लागि म रिणी छु। नेपाली कॉग्रेसका निर्वाचित चुमनारायण तवदार लाई मुरी मुरी बधाई, जनमतको कदर गर्नुहोला शुभकामना
त्यस्तै, निर्वाचन क्षेत्र नम्बर (ख) मा पनि नेपाली काङ्ग्रेस नै विजयी भएको छ ।
काङ्ग्रेसका केदार कार्कीले ११ हजार २९८ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी रमेश प्रसाद पोखरेलले ८ हजार १२० मत ल्याए ।
प्रतिनिधिसभामा भने यो क्षेत्रमा एमालेका लालबाबु पण्डित डा. शेखर कोराइलालाई हराउँदै विजयी बनेका थिए ।