प्यूठान, २४ मंसिर । मंसिर २१ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा दोस्रो चरण निर्वाचनमा प्यूठान जिल्लाको प्रदेश सभा तर्फ दुबै क्षेत्रमा बाम गठबन्धनका उम्मेदवारले विजयी हासिल गरेका छन् ।
एउटा प्रतिनिधी सभा सदस्य र २ वटा प्रदेश सभा सदस्य रहेको प्यूठान जिल्लामा प्रदेश सभा क्षेत्र नं. १ बाट नेकपा एमालेका उम्मेदवार हरि प्रसाद रिजाल र क्षेत्र नं. २ तर्फ माओवादी केन्द्रका उम्मेदवार कृष्णध्वज खड्काले विजय हासिल गरेका हुन् ।
रिजालले २४,७३४ मत प्राप्त गरी विजय हासिल गरेका छन् भने उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका टेक प्रसाद भण्डारीले १२,६३८ मत प्राप्त गरी पराजित व्यहोर्नु परेको छ । रिजालले आफ्ना प्रतिद्धन्द्धीलाई १२, ०९६ मतले पछि पर्दा जित हासिल गरेका हुन् ।
त्यस्तै प्रदेश सभा क्षेत्र नं. २ मा माओवादी केन्द्रका नेता कृष्णध्वज खड्का पनि फराकिलो मतान्तर सहित विजय भएका छन् । ४७,७२९ मत खसेकोमा नेता खड्काले २७,९१० मत ल्याई विजय हासिल गरेका हुन् । नेपाली काँग्रेसका उम्मेदवार अमर भण्डारीले १४,१६६ मत प्राप्त गरी परजित हुन परेको छ ।
नेता खड्काको आफ्ना प्रतिद्धन्द्धी भन्दा १३ हजार ७४४ मतान्तर फरक पार्दै विजयको झण्डा पहराउन सफल भएका छन् । प्रदेश सभा तर्फ विजयी दुवै उम्मेदवारहरुलाई जिल्ला समन्वय समिति खलंगाको सभा हलमा एक कार्यक्रमको आयोजना गरी आजै प्रमाणपत्र प्रदान गरिदै छ ।
नेतृ पौडेलको अग्रता कायमै
प्रतिनिधि सभा तर्फ भने बाम गठबन्धनका साझा उम्मेदवार दुर्गा पौडेलेका अग्रता कायमै देखिएको छ । राष्ट्रिय जनमोर्चाका नेतृ पौडेलले २३,६१७ मत प्राप्त गरी अग्र स्थानमा देखिएकी छन् भने उनका निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवार डा. गोविन्द पोख्रेलले १७,८७९ मत ल्याई पच्छाइ रहेका छन् । ५७३८ मतले पौडेल अगाडि देखिएक छन् । प्यूठान जिल्लाभरबाट जम्मा खसेको मतको करिब ६० प्रतिशत गणना भइसकेको छ ।