चितवन, १७ मंसिर । चितवनको भरतपुरमा रहेको कालिका एफएमले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको समाचारमा रोक लगाएको पाइएको छ ।

Advertisement

 बन मन्त्री तथा चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा उम्मेदवार विक्रम पाण्डेको लगानीमा सञ्चालन भएको उक्त एफएमले एक हप्तादेखि  लोकतान्त्रिक गठबन्धनका समाचारहरु मात्रै बजाएको हो ।

चुनावी संघारमा चितवनका वामगठबन्धनको समाचार प्रसारणमा रेडियो सञ्चालक पाण्डेले प्रतिबन्ध लगाएको त्यहाँ कार्यरत एक कर्मचारीले नाम नबताउने शर्तमा बताए ।

चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यका लागि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डसँग पाण्डेको प्रतिस्पर्धा हुँदैछ । राप्रपाका पाण्डे  लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार हुन् भने प्रचण्ड वाम गठबन्धनबाट उम्मेदवार रहेका छन् ।

 चितवन क्षेत्र नं. २ (ख) प्रदेश सभाका वामगठबन्धनका साझा उम्मेदवार विजय सुवेदीले राज्यबाट स्वीकृति लिएर सञ्चालन गरेको रेडियो सञ्चालकले समाचारमा प्रतिबन्ध लगाउनु प्रजातन्त्रको उपहास भएको बताएका छन् । ‘यो त आचारसंहिता विपरीत भयो, सम्बन्धित पक्षले हेर्नुप¥यो’ सुवेदीले भने ।

नेकपा (माओवादी केन्द्र) का नेता तथा संयुक्त वाम गठबन्धन चितवनका चुनाव प्रचारप्रसार समितिका उपसंयोजक सूर्य सुवेदी पथिकले समाचार प्रसारणमा रोक लगाउनु गम्भिर आचारसंहित विपरीत भएको बताएका छन् । ‘यो विक्रम पाण्डेको पञ्चायती शैली भयो, अब कालिका एफएम जनताको रेडियो भएन ।’ पथिकको भनाइ थियो ।

मानवअधिकार संगठन चितवनका सभापति बालकृष्ण पौडेलले कुनै दल विशेषको समाचारमा प्रतिबन्ध लगाउनु प्रेस स्वतन्त्रता विपरीत भएको बताएका छन् । ‘जनतालाई सूचनाको हकबाट वञ्चित गर्नु हुँदैन ।’ उनले भने ।

प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष महेश्वर दाहालले वामगठबन्धनको समाचार प्रसारणमा रोक लगाउनु जनतालाई सही सूचनाबाट टाढा राख्न खोज्नु भएको बताएका  छन् । उनले भने ‘ यो पाण्डेको पराजित मानसिकताको उपज हो’ दाहालले भने ।

 नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले अभिव्यक्ति स्वतन्त्रता विपरीत एकपक्षीय समाचार प्रसारण गर्न नमिल्ने बताए । त्यस्तै प्रेस चौतारी चितवनका अध्यक्ष तीर्थ नेपालले आग्रह–पूर्वाग्रह राखेर समाचार प्रशारणमा रोक लगाउनु नहुने बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!