जुम्ला, १६ मंसिर । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले ठूला मिडिया पुँजीपतिको हातमा पुगेको बताएका छन्।
जुम्लामा मिडिया व्यवस्थापन तथा पत्रकार आचारसंहिता तालिम र सूचना विभागको प्रेस पास वितरण कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष आचार्यले अहिले व्यापारी र व्यवसायीले ठूला मिडिया चलाएको बताए।
राज्यले साना मिडियालाई संरक्षण गर्ने कुनै पनि नीति लिएको छैन। पैसा लिएर समाचार छाप्ने संस्कृति पछिल्लो समयमा नेपालमा फस्टाउँदै गएको छ, अध्यक्ष आचार्यले भने, यस्तो प्रवृतिको अन्त्य हुनु पर्दछ।
रेडियो, टेलिभिजन, अनलाइन र छापा पत्रिका एउटै मालिकले चलाइरहेकाले त्यसलाई नियमन गर्नेक्रम शुरु भएको भन्दै आचार्यले एक व्यक्तिले १८ वर्षसम्म मात्र मिडिया सञ्चालन गर्न पाउनेगरी आम सञ्चार नीति २०७३ ल्याइएको जानकारी दिए।
अध्यक्ष आचार्यले लोकल्याणकारी विज्ञापनभन्दा पनि सामानुपातिक विज्ञापन प्रणाली नीति लागू हुन सके मात्र साना तथा दुर्गम क्षेत्रका मिडिया हाउस र पत्रकारको न्याय हुने भएकाले यसका लागि महासंघले पहलकदमी गरिरहेको बताए।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पत्रकारलाई राज्य र कर्मचारीले अपराधी बनाएको आरोप लगाए । आचारसंहिताबाहिर रहेर काम गर्ने र कामचोर सञ्चारगृहलाई कारबाही गरिएको श्रेष्ठको भनाई छ। उनले ल्यापटप, क्यामेरा, प्रेसलगायत यान्त्रिक सामान खरिद गर्दा पत्रकारलाई काउन्सिलले सहयोग गर्दैआएको जानकारी दिए।
काउन्सिलका मुख्य अधिकृत झवीन्द्र भुसालले छापा तथा विद्युतीय सञ्चारगृहको वर्गीकरण, तिनको अनुगमन र नियमन काउन्सिलले निर्बाध गरिरहेको जानकारी दिए। काउन्सिलका केन्द्रीय सदस्य ईश्वरी ओझाले पत्रकारले पत्रकारको भूमिका निर्वाह गर्न नसके प्रेस स्वतन्त्रताको विरासत गुम्ने बताए।
सूचना विभागका महानिर्देशक वीरबहादुर राईले प्रेस पासलगायत सबै सेवा अनलाइनमार्फत गर्न लागिएको जानकारी दिए । राईले विभागले पत्रकारलाई निवृत्तिभरण र छात्रवृत्ति दिने व्यवस्था गर्न लागेको समेत बताए। प्रेस पास नवीकरण गर्ने पत्रकारलाई दुर्घटना बीमा दिइने प्रावधान ल्याइएको उनको भनाई छ। विभागले कर्णालीका ४० जना क्रियाशील पत्रकारलाई प्रेस प्रतिनिधि प्रमाणपत्र प्रदान गरेको छ। रासस