काठमाडौं, १६ मंसिर ।  सरकारले आगामी मंसीर २१ गते दोस्रो चरणमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा ढुक्क भएर मतदान गर्न आम मतदातालाई अपिल गरेको छ ।

चार वटै सुरक्षा निकायका प्रमुखहरुले शुक्रबार अपरान्ह निर्वाचन आयोगका पदाधिकारीहरुसँगको सामूहिक भेटमा निर्वाचनका लागि सुरक्षा व्यवस्था सुदृढ रहेको जानकारी गराउँदै ढुक्क भएर मतदानमा भाग लिन आम मतदातालाई अपिल गरेका हुन् ।

सुरक्षा व्यवस्था सुदृढ भएकाले निर्धक्कसँग मतदानमा भाग लिन आम मतदातालाई पुनः आह्वान गरिएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले जानकारी दिए ।

बैठकमा सुरक्षा निकायका प्रमुखहरुले उम्मेदवारमाथि लक्षित गर्दै भईरहेका निर्वाचन विरोधि गतिविधिलाई दोहोरिन नदिने प्रतिवद्धता पनि जनाएका थिए ।

छलफलमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचन विरोधि गतिविधि हुन नदिन सुरक्षा निकायका प्रमुखहरुको गम्भिर ध्यानाकर्षण गराएका थिए ।

यसैबीच, निर्वाचन आयोगले निर्वाचनको निष्पक्षतामा प्रतिकूल प्रभाव पार्नेगरी सामाजिक संजालमा राखिएका अडियो, भिडियो, फोटो तथा सहिदका तस्वीरलाई तत्काल हटाउने व्यवस्था गर्न, गराउन र अटेर गरे कडा कार्वाही गर्न पनि सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी निर्वाचन आचारसंहिता विपरित हुनेगरी सामाजिक संजालहरुमा राखिएका सामग्रीहरु तत्काल हटाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई सचेत गराएका हुन् ।

निर्वाचन  आयोगले निर्वाचन विरोधि गतिविधि हुन नदिन पनि सम्वद्ध सबै पक्षको पुनः ध्यानाकर्षण गराएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!