ललितपुर, १५ मंसिर । निर्वाचन आयोगले आम मतदातालाई निर्भयताका साथ मतदान गर्ने वातावरण निर्माण गर्ने दायित्व मतदान अधिकृतहरुको भएकाले त्यस्तो बातावरण तयार गर्न अधिकृतहरुलाई पुनः निर्देशन दिएको छ ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले मतदान केन्द्रभित्र आम मतदातालाई सहज, सरल र निर्भयताका साथ मतदान गर्ने वातावरण बनाउन मतदान अधिकृतहरुलाई पुनः सचेत गराएका हुन् ।
‘मतदानस्थल भित्र प्रवेश गरेका मतदातालाई निर्भयताका साथ मत हाल्ने वातावरण बनाउने आधारभूत दायित्व मतदान अधिकृतहरुको हो’ प्रमुख आयुक्त यादवले भने ।
शुक्रबार ललितपुरमा मतदात अधिकृतहरुलाई प्रशिक्षण दिँदै प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन कानुन, नियमावली र निर्देशिका अनुसार अनुशासित भएर मतदान सम्पन्न गर्ने आफ्नो दायित्व पूरा नगरे कडा कारवाही गर्ने चेतावनी पनि दिए ।
आगामी मंसीर २१ गते दोस्रो चरणको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सम्पन्न हुँदैछ ।
निर्वाचन आयोगले दोस्रो चरणमा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भईसकेको पनि जनाएको छ ।