काठमाडौं, १५ मंसिर । सरकारले पृथ्वीजयन्तीमा पुनः बिदा दिने निर्णय गरेको छ । जनआन्दोलन २०६२–६३ सालपछि बनेको गिरीजाप्रसाद कोइराला नेतृत्वको सरकारले पृथ्वीजयन्तीमा दिँदै आएको बिदा कटौती गर्ने निर्णय गरेको थियो ।
बिदा कटौती भएसँगै संवैधानिक राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा वकालत गर्दै आएको राप्रपाले निरन्तर पृथ्वीजयन्तीको दिन बिदा दिइनुपर्ने माग गर्दै आएको थियो ।
यसैक्रममा बिहिबार बसेको मन्त्रिपरिषद् बैठकमा उपप्रधान तथा ऊर्जामन्त्री कमल थापाको ठाडो प्रस्तावमा बिदा दिने निर्णय भएको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए ।
ती मन्त्रीका अनुसार गृहमन्त्रालयले आगामी क्रिसमसमा सार्वजनिक बिदा दिने प्रस्ताव लगेको थियो । सो प्रस्ताबारे जानकारी पाएसँगै कमल थापाले पृथ्वीजयन्तीमा पनि बिदा दिने निर्णय गरौं भनि प्रधानमन्त्रीसँग प्रस्ताव गरेका थिए ।
सुरुमा प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले क्रिसमसको अवसरमा मात्रै बिदा दिने निर्णय गर्ने र अर्को बस्ने बैठकमा पृथ्वीजयन्तीमा पनि बिदा दिने निर्णय गर्ने धारणा राखेका थिए ।
तर, कमल थापाले पछि भन्दा पनि अहिले नै दुबै बिदा एकैसाथ गर्न जोडबल गरेपछि प्रधानमन्त्री पनि सकारात्मक बन्दै बिदा दिने निर्णय भएको ती मन्त्रीको भनाई छ ।
मन्त्रिपरिषदबाटै पृथ्वीजयन्तीका दिन बिदा दिने निर्णय भएपछि आफूहरुले विगतमा बिदाको लागि उठाएको आवाजले सार्थकता पाएका राप्रपाले जनाएको छ ।
राप्रपाका प्रभावशाली नेता तथा सहरी विकासमन्त्री दिलनाथ गिरीले लामो समयदेखि बिदाको लागि पार्टीले उठाउँदै आएको आवाजले सार्थकता पाएको भन्दै यसमा प्रधानमन्त्रीको लचकताको प्रशंशा गरे । पृथ्वीजयन्ती हरेक वर्ष पुस २७ गते मनाइने गरिएको छ ।
निधिसँग लफडा देउवाले सल्ट्याए !
अघिल्लो सरकारले पृथ्वीजयन्तीको अवसरमा समेत बिदा दिनेगरी वर्षभरीको बिदा मन्त्रिपरिषदबाट स्वीकृत गरेको थियो । तर, तत्कालिन उपप्रधान तथा गृहमन्त्री नेता विमलेन्द्र निधि र कमल थापाको व्यक्तित्वको टकरावले अन्तिम समयमा आएर बिदा रद्द गरिएको थियो ।
२०७४ सालमा वर्षभरी दिइने सार्वजनिक बिदालाई औपचारिकता दिने क्रममा निधिले पृथ्वीजयन्तीको (पुस २७ गते ) दिन दिइने बिदा हटाएका थिए । सो बिदा हटाउने विषयमा तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री दिलनाथ गिरी र निधिबीच चर्काचर्की नै भएको थियो ।
२०७३ चैतको दोस्रो सातातिर भएको बैठकमा निधिले बिदा कटौती गरेपछि आक्रामक बन्दै गिरीले भनेका थिए– ‘पृथ्वीजयन्तीको दिन बिदा दिने क्याबिनेटबाटै निर्णय भएको छ भने कसरी अहिले एकाएक बिदा हट्यो ?’ ।
जवाफमा निधिले भने क्याबिनेटबाट कुनै निर्णय नभएको मात्रै राजनीतिक सहमतिको आधारमा आवश्यक परे पछि बिदा दिइने समझदारी मात्रै भएको जवाफ दिँदै बिदा नदिने निर्णय गराएका थिए ।
त्यतिबेला निधिले विदा कटौती गर्नुमा त कमल थापाँसँग बरियताको बिवाद भएको बताइन्छ । त्यतिबेला प्रचण्ड सरकारमा उपप्रधानमन्त्री रहेका कमल थापाले निधिको भन्दा माथिल्लो बरियता पाएपछि निधि रुष्ट बनेको र सोहि कारण थापालाई देखाइदिन आफू मातहतमा रहेको बिदासम्बन्धी निर्णयमा पृथ्वीजयन्तीको बिदा हटाएको चर्चा आएको थियो ।
तर, हाल आएर राप्रपासहितको लोकतान्त्रिक गठबन्धन बनेको छ भने निधि–थापाबीचको बिबाद पनि मत्थर भइसकेको छ । यस्तो अवस्थामा थापाले राखेको प्रस्तावलाई प्रधानमन्त्रीले स्वीकारेर १० वर्षपछि पुनः पृथ्वीजयन्तीमा बिदा दिने निर्णय भएको छ ।
यसैबीच थापाले पृथ्वीजयन्तीको दिन बिदा दिर्ने निर्णय गराउन भूमिका खेलेको भन्दै प्रधानमन्त्री देउवाप्रति आभार प्रकट गरेका छन् ।