कालिकोट, १४ मंसिर । यही मंसिर १० गते भएको निर्वाचनको मतपेटिका सुरक्षाका लागि दलका कार्यकर्ता पनि खटिएका छन्। मतपेटिकाको सुरक्षामा दलहरुले कार्यकर्ता खटाएका हुन्।
सदरमुकामस्थित जिल्ला अदालतमा राखिएका मतपत्र सुरक्षा गर्न लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनका ७÷७ जना कार्यक्रर्ताले नियमित ड्यूटी गरिरहेका छन्।
पहिलो चरणमा भएको निर्वाचनको मतगणना मंसिर २१ मा दोस्रो चरणको मतदान सकिएपछि हुने निर्वाचन आयोगले जनाएको छ। आफूहरुले चौबिसै घण्टा मतपत्र कुरिरहेको एमाले जिल्ला सचिव चित्रसिंह गाउँलेले बताए।
‘दलका कार्यकर्तालाई बस्न मुख्य निर्वाचन अधिकृतले छुट्टै स्थानको व्यवस्था गरेका छन्,’ उनले भने, ‘उम्मेदवार आफू नै उपस्थिति हुने र नभएमा प्रतिनिधि मतपेटिका राखेको स्थानमा पठाउने गरेका छौँ।’
दलका कार्यकर्ताभन्दा भित्र शसस्त्र प्रहरी र नेपाल प्रहरीका जवानहरुले नियमित पहरा दिइरहेका छन्। मतपेटिका राखेको भवनको छेउछाउमा बाक्लो भीड लाग्ने गरेको छ। तत्काल गणना नहुने भएपछि धैर्य गर्न कठिन भएको उम्मेदवार, दलका नेता÷कार्यकर्ता र मतदाताहरु बताउँछन्।