काठमाडौँ, १३ मंसिर । नेकपा एमालेले आफूहरु निर्वाचन आयोगले तोकेको आचारसंहिता पालना गर्नका लागि प्रतिबद्ध रहेको बताएको छ ।

पार्टीलाई भोट माग्दै विभिन्न दैनिक पत्रिकाहरुमा नेकपा एमालेले विज्ञापन छपाएको विषयमा निर्वाचन आयोगले २४ घण्टे स्पष्टिकरण माग गरेपछि पार्टीले विज्ञप्ति जारी गर्दै यस्तो जवाफ दिएको हो ।

‘आयोग जस्तो गरिमामय संस्थाले तोकेको आचारसंहिता पालना गर्नुलाई हामीले बाध्यता होइन, दायित्वको रुपमा लिनुपर्छ,’ प्रवक्ता विष्णु रिमालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

पार्टीले निर्वाचनका सबै कार्यक्रम र प्रचार कार्यहरू निर्वाचन आयोगले तोकेको आचारसंहिता भित्रै रही सञ्चालन गरिरहेको पनि विज्ञप्तिमा दाबी गरिएको छ ।

रोचक कुरा, पार्टीले ती विज्ञापन पार्टी आफैले भन्दा पनि पार्टीका शुभचिन्तकहरुले छपाएको पनि स्पष्ट पारेको छ । विज्ञप्तिको पहिलो हरफमा नै भनिएको छ,

प्रतिनिधिसभा र प्रदेशसभाको आसन्न निर्वाचनमा नेकपा (एमाले) को पक्षमा हाम्रो पार्टीका अध्यक्ष कमरेड केपी शर्मा ओलीको तस्विरसहित विभिन्न पत्रपत्रिकामा प्रचार सामग्री प्रकाशित गर्नुहुने हाम्रा शुभचिन्तक तथा शुभेच्छुकहरूप्रति पार्टीको केन्द्रीय निर्वाचन परिचालन कमिटी हार्दिक आभारसहित धन्यवाद ज्ञापन गर्दछ । 

विज्ञप्तिमा स्वतःस्फूर्त रुपमा चुनाव चिन्ह वा शीर्ष नेताहरूको तस्विरसहितको कुनै पनि प्रचार कार्य सम्पादन गर्दा आचारसंहिताको सीमाभित्र रही गर्न आम मतदाता, समर्थक, शुभेच्छुक तथा सदस्यहरूलाई हार्दिक आह्वान पनि गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!