
काठमाडौँ, १३ मंसिर । दाङको तुलसीपुरमा नेपाली काङ्ग्रेसको सभालाई लक्षित गरी भएको बम विष्फोटमा ज्यान गुमाएका म्यादी प्रहरीलाई शहीद घोषणा गर्न नेपाली काङ्ग्रेसले माग गरेको छ ।
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलसहित नेपाली कांग्रेसका शीर्ष नेताहरु दाङको तुलसीपुरमा आयोजित आमसभालाई सम्बोधन गर्न पुगेका बेला हिजो भएको बम विष्फोट भएको थियो ।
विष्फोटमा परी २३ वर्षीय म्यादी प्रहरी विनोद चौधरीको आज उपचारका क्रममा निधन भएको थियो ।
घटनाप्रति पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिले गहिरो दुःख व्यक्त गरेको छ । संयोजक बालकृष्ण खाँणले जारी गरेको विज्ञप्तिमा चौधरीलाई शहीद घोषणा गर्न माग गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनको बेला शान्ति सुरक्षाका लागि खटिनु भएका चौधरीकोे निधन राष्ट्रप्रति समर्पित भएको हुँदा उनलाई राज्यले तत्काल शहीद घोषणा गर्नका लागि नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समिति सरकारसँग माग गर्दछ ।’
साथै, निर्वाचन सम्पन्न गराउन खटिएका राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मीको मनोवल उच्च बनाउनुका साथै आम नागरिकमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन प्रतिवद्ध रहँदै अन्य घाइतेहरुको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरिएको छ ।
विज्ञप्तिमा नेपाली कांग्रेस र लोकतन्त्रप्रतिको उर्लदो अपार जनसागरबाट अतालिएर दिनानुदिन नेपाली कांग्रेसका नेता एवं कार्यकर्ताहरुलाई लक्षित गरी लोकतन्त्रलाई नै समाप्त पार्ने ढंगले लोकतन्त्र विरोधी तत्वहरुले सुनियोजित तवरबाट बारम्बार यस प्रकारका घटनाहरु दोह¥याइरहेको बताइएको छ ।
घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल खोजी गरी कडा भन्दा कडा कार्वाही गर्न सरकारसँग मागसमेत गरिएको छ ।















