इजिप्ट, ९ मंसिर । आतंकवादी आक्रमणमा २ सय ३५ जना सर्वसाधारणको हत्या पछि इजिप्टका राष्ट्रपति अब्दुल फताह अल सिसीले यसको कडा जवाफ फर्काउने प्रतिबद्धता जनाएका छन् ।

Advertisement

शुक्रबार सिनाई प्रान्तको उत्तरी भागमा रहेको एक मस्जिदमा आतंकवादी हमलामा भएको थियो । वीर अल–अवेद सहरमा रहेको अल–रावडा मस्जिदमा शुरुमा बम विस्फोट गराइएको थियो भने विस्फोटपछि भाग्ने क्रममा सर्वसाधारणमा अन्धधुन्द गोली प्रहार गरिएको थियो ।

यता, इजिप्टको सेनाले जवाफी कारवाही स्वरुप आतंकवादीहरुको अखाडामा हवाई आक्रमण गरेको जनाएको छ ।

अहिलेसम्म कुनै पनि समूहले यस घटनाको जिम्मेवारी लिएको छैन ।

इजिप्टमा भएको यो अहिलेसम्मकै ठूलो आतंकवादी हमला हो ।

इजिप्टका सुरक्षाकर्मीले लामो समयदेखि सिनाई प्रान्तमा चरमपन्थीविरुद्ध कारवाही चलाइरहेको छ । त्यस क्षेत्रमा इस्लामिक स्टेट (आइएस) सँग आबद्ध चरमपन्थीहरुले समय–समयमा यस्ता घटना घटाउने गरेका छन् ।

‘जे भइरहेको छ, त्यो हाम्रो आतंकवाद विरुद्धको लडाईं रोक्न लक्षित छ,’ सिसीले टेलिभिजनमा सम्बोधन गर्दै भने, ‘हाम्रो सशस्त्र बल र प्रहरीले हाम्रा शहीदहरुको बदला लिनेछन् र सुरक्षा र स्थायित्व कायम गर्नेछन् ।’

लगत्तै, सेनाका प्रवक्ताले प्रतिक्रियास्वरुप आतंकवादीको अखडा र हतियार भण्डारमा हवाई कारवाही गरेको जानकारी दिए ।

घटनापछि तीन दिन राष्ट्रिय शोक मनाउने घोषणा गरिएको छ ।

कसरी भयो घटना ?

गाडीमा सवार भएर दर्जनौँको संख्यामा आतंकवादीहरुले मस्जिदलाई घेरेका थिए । त्यसपछि बम विस्फोट गराएर भाग्न खोज्ने सर्वसाधारणमाथि अन्धाधुन्ध गोली बर्साएका थिए । आक्रमणकारीले पार्किङमा राखिएका गाडीलाई आगो लगाउनका साथै एम्बुलेन्सहरुमाथि पनि आक्रमण गरेका थिए ।

घटनामा १ सयभन्दा बढी घाइते भएका छन् ।

वीर अल–अवेद राजधानी कायरोबाट २११ किलोमिटर टाढा रहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!