काठमाडौं, ८ मंसिर । चुनावमा सघाउने कार्यकर्ताका निम्ति उम्मेदवारले सबभन्दा बढी खर्च दुइटा चिजमा गर्छन्– इन्धन र मदिरा।

आवतजावतमा पेट्रोल–डिजेल अधिक खपत हुन्छ भने दिनभर चुनावी प्रचारप्रसारमा हिँडेका अधिकांश कार्यकर्ताको थकान मेटाउन मदिरा।

यसले मदिरा व्यापार बढाएको छ।

चुनावकै कारण मदिरा व्यापार दोब्बर बढेको आरएन ओभरसिजका संचालक नबिन लाल श्रेष्ठ बताउँछन्।

‘चाडपर्व, विवाह जस्ता सामाजिक घटनामा मात्र होइन, राजनैतिकमा पनि मदिरा व्यापार बढ्छ,’ नेपाल मदिरा व्यवसायी महासंघका निर्वतमान अध्यक्ष समेत रहेका श्रेष्ठले भने, ‘बजेटका बेला त बढ्छ भने अहिले त चुनाव। त्यहाँमाथि विवाहको मौसमले मदिरा एकदमै खपत भइरहेको छ। दसैं जत्तिकै छ।’

उनका अनुसार साना–ठूला सबै किसिमका होटलहरूमा मदिरा खानेहरूको भिडभाड बढेको छ। स्वदेशी, विदेशी ब्रान्डेड मदिरादेखि लिएर घरेलु मदिरा समेत खपत बढेको छ। ‘यति नै भन्ने थाहा नभए पनि अहिले कुल खपतको १० देखि १५ प्रतिशत घरेलु मदिरा हुन्छ,’ श्रेष्ठले जानकारी दिए।

उता गोर्खा बु्रअरीका मार्केटिङ निर्देशक वैभव शर्मा भने यो समयमा मदिरा व्यापार १०–१५ प्रतिशत मात्र बढ्ने बताउँछन्। ‘चुनावको केही दिनअघि नै मदिरा बेचबिखन बन्द हुने भएकोले व्यापार अत्यधिक भने हुँदैन। त्यही १०–१५ प्रतिशत बढ्ने हो,’ शर्माले भने, ‘फेरि काठमाडौंबाट बाहिरिने मान्छे धेरै भएकाले यहाँको व्यापार उच्च भने हुँदैन।’

निर्वाचन आयोगले प्रतिनिधिसभा उम्मेदवारले प्रचारमा २५ लाख रुपैयाँसम्म खर्च गर्ने सीमा तोकेको छ। यही सीमाभित्र बाँधिन धेरै उम्मेदवारले गोप्य रूपमा मदिरामा खर्च गरेको पनि पाइएको छ। केही समय अगाडि मात्र नेपाली कांग्रेस नवलपरासी चुनाव प्रचारप्रसार समिति कार्यालयबाट प्रहरीले ठूलो परिमाणमा मदिरा बरामद गरेको थियो। क्षेत्र नं ४ का उम्मेदवार देबेन्द्रराज कँडेलको प्रचार प्रसार समिति कार्यालयबाट ३ सय २५ कार्टुन मदिरा बरामद भएका प्रहरीले सार्वजनिक गरेको थियो।

नेपालमा सामान्यतया वार्षिक झन्डै १ करोड २४ लाख लिटर मदिराजन्य पदार्थ आयात हुने गरेको भन्सार विभागको तथ्यांक छ।

विभागको तथ्यांक हेर्दा आर्थिक वर्ष २०७३/७४ मा विभिन्न देशबाट १ करोड २३ लाख ९३ हजार २३ लिटर मदिरा र मदिराजन्य पदार्थ नेपाल भित्रिएको थियो। यो सबको भन्सार मूल्य ३ अर्व ११ करोड ७९ लाख १९ हजार रुपैयाँ हुन जान्छ।

त्यस्तै आर्थिक वर्ष २०७४/७५ को पहिलो तीन महिनामा ७५ हजार २ सय ७४ लिटर मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ नेपाल भित्रिसकेको छ। यसको मूल्य १ करोड ७८ लाख ७ हजार १ सय २० रुपैयाँ हुन जान्छ।

यो तथ्यांक आयातित मदिराको मात्र हो। यसमा नेपाली कच्चा पदार्थबाट बन्ने र घरेलु मदिराको लेखाजोखा छैन।

यस वर्ष चुनावी लहर चलेकाले आयात धेरै बढ्ने विभागको अनुमान छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!