कपिलवस्तु, ४ मंसिर । कपिलवस्तुको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार पूर्वराजदूत दीपकुमार उपाध्यायले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेपछि जिल्ला निर्वाचन कार्यालयलाई टाउको दुखाइ भएको छ।

Advertisement

उम्मेदवार उपाध्यायले निर्वाचन आयोगको निर्देशनविपरीत सार्वजनिकस्थलमा ठुल्ठूला होर्डिङ बोर्ड झुन्डयाएको भन्दै उजुरी परेको हो। उम्मेदवार उपाध्यायले आचारसंहिताविपरीत कार्य गरेको भन्दै कपिलवस्तु नगरपालिकाका विक्रम बढई तथा रामसुभग चाईले संयुक्त रुपमा उजुरी दर्ता गराएका हुन्।

आचारसंहिताविपरीत राजनीतिक दलले निर्वाचन प्रचारप्रसार गरेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले आचारसंहिताबारे राजनीतिक दलहरुलाई पटकपटक जानकारीसमेत गराएको छ।

आयोगको निर्देशनविपरीत ठूला होर्डिङबोर्ड सार्वजनिकस्थलमा टाँगेको, जिल्ला समन्वय समितिका प्रमुख नारायण खनालले सरकारी गाडी दुरुपयोग गरेको विषयमा उजुरी परेपछि कार्यालयले जिल्लाका सबै दल र उम्मेदवारलाई आचारसंहिता पालना गर्न निर्देशन दिएको हो।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले मौखिक रुपमा सम्बन्धित पक्षलाई सचेत गराइएको भए पनि उम्मेदवारहरुले अटेरी गरेपछि कार्यालय आफैँ निर्वाचन प्रचार सामग्रीहरु हटाउन थालेको छ।

आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय कपिलवस्तुका अनुगमन अधिकृत लेषनाथ अर्यालको नेतृत्वमा गएको टोलीले जिल्लाको निर्वाचन क्षेत्र नं. १ र २ मा अनुगमन गर्दै प्रचार सामग्रीहरु हटाएको हो।

आयोगको निर्देशनपछि बाध्य भएर आपूmहरु नै संलग्न भई निर्वाचन प्रचार सामग्री हटाउन परेको निर्वाचन अधिकृतको कार्यालय कपिलवस्तुका अनुगमन अधिकृत लेषनाथ अर्यालले बताए।

‘पटक पटकको अन्तरक्रिया र टेलिफोनमार्फत जानकारी गराउँदा उहाँहरुले पर्चा, पम्पलेट, ब्यानर हटाउनुभएन, त्यसैले यस्तो कदम चालियो’ उनले भने। कपिलवस्तुमा नेपाली कांग्रेस, वाम गठबन्धन, राजपा, संघीय समाजवादी फोरम लगायतका राजनीतिक दलले निर्वाचन प्रचारप्रसारमा आचारसंहिता उल्लंघन गरेका छन्।

सदरमुकाम तौलिहवालगायत लवनी, दोहनी, पकडी, बहादुरगन्ज र कृष्णनगर क्षेत्रमा बढी मात्रामा आचारसंहिता उल्लंघन भएका छन्। जिल्ला निर्वाचन कार्यालय प्रमुख ज्ञानहरि घिमिरेका अनुसार उजुरी दर्ता भएको र नियमअनुसार उनीहरुलाई सचेत गराइएको जानकारी दिए।

कार्यालयका अनुसार आचारसंहिता उल्लंघनविरुद्ध अहिलेसम्म मौखिक र फोनमार्फत धेरै उजुरी आए पनि लिखित भने दुईवटा मात्र परेको जनाएको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!