काठमाण्डौ, ३० कात्तिक।  हिन्दू राष्ट्र नेपाल र राजसंस्था पुर्नस्थापनाको माग राखेर लामो समयदेखि आन्दोलनरत शिव सेना नेपालले सप्ताहव्यापी आन्दोलनको घोषणा गरेको छ ।

Advertisement

नेपाल र हिन्दू अधिराज्य स्थापना आन्दोलन समितिले बुधबार काठमाण्डुमा पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

आगामी मंसिर १० र २१ गते हुन लागेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको विरोध गर्र्दै शिव सेना सडक संघर्षमा उत्रिने घोषणा गरेको हो ।

पत्रकार सम्मेलनमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतले भने, ‘हामी भगवान शिवका सेना हौं । हामी धर्ममा विश्वास राख्छौं । अधर्मको साथ दिने संविधान, अधर्मलाई नै कार्यान्वय गराउन खोज्ने निर्वाचन जनतामाथिको धोका हो । यसकारण यो निर्वाचनको विपक्षमा छौं हामी ।’

अध्यक्ष बस्नेतले नेपाली जनताको एकताको प्रतिक राजसंस्था मास्ने, विदेशी शक्ति केन्द्रको दबाबमा, उनीहरुकै निर्देशनमा नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाइएको दावी गरे । अध्यक्ष बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राजा सर्वशक्तिमान रहेको बेला पनि तत्कालीन अवस्थामा राजाले राजधर्म मानेर आफ्ना जनताविरुद्ध दमनको नीति नलिइई लोकतान्त्रिक पद्धतिलाई आत्मसात गरी जनताको नासो जनतालाई छाडेको सर्वविदितै छ ।’

शिव सेनाले अब निर्वाचनमा सहभागी नहुने, निर्वाचनको विपक्ष र राजसंस्था, हिन्दूत्वको पक्षमा सबै जनता सडकमा आउनु पर्ने अवस्था आइसकेको स्पष्ट पारेको छ ।

राजनीतिक दलका रुपमा स्थापित भए पनि शिव सेना नेपाल अहिले निर्वाचनको विपक्षमा छ । उसले कात्तिक ३० गते बिहीबारदेखि मंसिर ६ गतेसम्म विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

जसअनुसार बिहीबार भक्तपुर कमल विनायकमा हिन्दूराष्ट्र स्थापनार्थ कार्यक्रम, मंसिर १ गते ललितपुर जावलाखेलमा, मंसि २ गते काठमाण्डु हनुमानढोकामा, मंसिर ३ गते काठमाण्डु भद्रकालीमा, मंसिर ४ गते पशुपतिनाथ वनकालीमा, पाँच गते मैतिदेवीमा र ६ गते काठमाण्डु महादेवस्थानमा कार्यक्रमको आयोजना गरिएको छ । यो कार्यक्रमको संयोजन तथा आयोजना शिव सेना नेपाल र उसका भातृ भगिनी संगठनहरुले गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!