
काठमाडौं, २९ कात्तिक । प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले चुनाव नजिकिएसँगै सुरक्षा चुनौती बढेको भन्दै उम्मेदवारलाई सुरक्षित रहन आग्रह गरेका छन्।
नेपाल पत्रकार महासंघले बुधबार गरेको कार्यक्रममा उनले सुरक्षा निकायले पनि सतर्कता अपनाइरहेकाले उम्मेदवारलाई आफ्नो सुरक्षा आफैँ गर्न आग्रह गरे।
‘निर्वाचन नजिकिएसँगै सुरक्षा चुनौती बढेको छ। हामीले सरकारलाई पनि भनेका छौँ। तर, पनि सबैले सुरक्षाकर्मीको मात्र भर पर्न हुँदैन। घरदौलो कार्यक्रम गर्दा तपाईंहरुले पनि सुरक्षा संवेदनशीलतामा ध्यान दिनुहोस्’ उनले भने।
देशका विभिन्न ठाउँमा उम्मेदवारमाथिको आक्रमण बढिरहेको भन्दे उनले सरकारलाई उचित सुरक्षा व्यवस्थाको पनि ख्याल गर्न आग्रह गरे। उनले केन्द्रीय सुरक्षा समितिसँग पनि सुरक्षाको विषयमा छलफल भइरहेको बताए। ‘केही समूहले निर्वाचन बहिष्कार गरेका छन्। यसले सुरक्षा संवेदनशीलता बढाएको छ’,उनले भने,‘हामी सबैलाई सधैँ प्रहरीले मात्र सुरक्षा दिन सक्दैन, उम्मेदवार र मतदाता सबैले आफ्नो सुरक्षाको आफैँ ख्याल गर्नुपर्छ।’
पछिल्लो समय उम्मेदवारमाथि एकपछि अर्को गर्दै श्रृंखलाबद्ध रुपमा भइरहेका आक्रमणबाट आयोग जानकार रहेको र चिन्तित रहेको उनको भनाइ छ। अहिले मात्र नभई हरेक चुनावमा सुरक्षा चुनौती हुने गरेको भन्दै प्रमुख निर्वाचन आयुक्त यादवले सुरक्षा चुनौतीले १० र २१ गते हुने चुनावमा कुनै असर नगर्ने बताए। नेपालमा हरेक निर्वाचनमा आचारसंहिता उल्लंघन धेरै हुने गरेको उनले बताए।
उनले भने,‘नेपालमा अहिलेमात्र होइन हरेक निर्वाचनमा आचारसंहिता उल्लंघन हुने गरेको छ। यो सरकारले पालना गर्नुपर्ने हो। २०७० मा निर्वाचन सरकार बनेको थियो। अहिले पनि बने हुन्थ्यो नि त।
कति सजिलो हुन्थ्यो। सरकारमा गएपछि शक्ति दुरुपयोग नगर्नुहोस् हामीले भनेका छौँ। आचारसंहिता उल्लंघन नगर्नुहोस्।’ आचारसंहिता उल्लंघनका घटना आफूहरुले पनि सुनेको भन्दै उनले पर्याप्त प्रमाणको अभावका कारबाही गर्न नसकिएको गुनासो गरे। आचारसंहिता उल्लंघनमा उम्मेदवारी रद्ददेखि एकलाख रुपैयाँसम्म कारबाही उनले बताए। -थाहाखबर















