काठमाडौँ, २८ कात्तिक । चिनियाँ कम्पनी गेजुवासँग तत्कालिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले बुढी गण्डकी आयोजना निर्माणबारे गरेको सम्झौता सोमबार बसेको मन्त्रीपरिषद् बैठकले रद्द गर्ने निर्णयको नयाँ शक्ति नेपालले स्वागत गरेको छ ।

नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले सम्झौता खारेज भएपछि पार्टीले लिएको अडान पुष्टि भएको दाबी गरेका हुन् । सम्झौताका दौरान अनियमितता भएको भन्दै नयाँ शक्तिले यसविरुद्ध अभियान नै चलाएको थियो ।

एक हजार २०० मेगावाट क्षमताको आयोजनामा लगानीसमेत जुटाउने गरी तत्कालीन सरकारले चिनियाँ कम्पनीलाई दिएको थियो। तर, संसद्को सार्वजनिक लेखा समिति र कृषि तथा जलस्रोत समितिले सम्झौता पारदर्शी नभएको भन्दै खारेज गर्न सरकारलाई निर्देशन दिएको थियो।

सामाजिक सञ्जालमा फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै डा. भट्टराईले अब अनियमितता गर्नेहरुलाई कारवाही गर्नुपर्ने माग गरेका छन् ।

उनले लेखेका छन्, ‘बुढीगण्डकी परियोजनामा भएको अनियमितता सच्याउने निर्णयले नयाँ शक्तिको अडान पुष्टी भएको छ। अब अनियमितता गर्नेहरूलाई कार्वाही गरेर यस्ता हर्कत हुन नदिने काम गरौं न !’

यता, उर्जा मन्त्री कमल थापाले संसदीय समितिको निर्देशन अनुसार बुढिगण्डकी जलविद्युत आयोजना सम्बन्धि विवादास्पद सम्झौता खारेज भएको जानकारी दिएका छन्। ‘केही दिन भित्रमा नै राष्ट्रिय गौरवको यो आयोजना यथसंभव चांडो निर्माण सम्पन्न गर्नेगरि नीति, कार्यविधि र योजना सार्वजनिक गरिने छ,’ उनले भनेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!