काठमाडौ, २७ कात्तिक ।  जाजरकोटमा प्रतिनिधिसभाका उम्मेदवार राजिव विक्रम शाहले एक सुत्केरी महिलाको ज्यान बचाएका छन् । उच्च रक्तश्रावबाट पीडित कुशेगाउँपालिका(८ रिजापहाडाकी ३० वर्षकी चन्द्रादेवी रोका मगरलाई शाहले हेलिकप्टर मगाएर उद्धार गरी नेपालगञ्ज पठाएका हुन् ।

Advertisement

१८ घण्टासम्म लगातार रक्तश्राव नरोकिएपछि मगरलाई शाहको पहलमा थप उपचारका लागि हेलिकप्टरद्वारा नेपालगंज पुर्‍याइएको हो । मगर ९ दिनअघि दुर्गम गाउँ रिजापहाडा स्थित घरमै असुरक्षित रुपमा सुत्केरी भएकी थिइन् ।

प्रतिनिधिसभाका उम्मेदवार शाहले ५ लाख रुपैयाँ निजी खर्चमा सुत्केरीको उद्धार गर्न हेलिकप्टर उपलब्ध गराएको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताउनु भएको छ ।

चुनावी अभियानको क्रममा रिजापहाडादेखि २५ कोश टाढाको जुनीचाँदे गाउँपालिकामा रहेका शाहलाई फोनमार्फत सुत्केरीको उच्च रक्तश्रावबाट ज्यान जान लागेको भनेर खबर गरेपछि शाहले हेलिकप्टरको ब्यबस्था गरेको अध्यक्ष बस्नेतले बताउनुभयो । समाजसेवी शाहले तत्काल हेलिकप्टरको ब्यबस्था नगरेको भए सुत्केरीको ज्यान जाने खतरा रहेको बस्नेतको भनाई छ ।

उच्च रक्तश्रावका कारण उनको शरीरमा रगत अभाव भएको र ३,४ घण्टाभित्र थप रगत उपलब्ध नगराए ज्यान जाने खतरा रहेको स्थानीय स्वास्थ्यकर्मीले बताएपछि महङ्गो खर्च ब्यहोरेर हेलिकप्टरको प्रयोग गर्न बाध्य भएको बस्नेतले बताउनु भयो ।

सुत्केरीलाई डोकोमा बोकाएर सडक पहुँचसम्म पुर्‍याउनै १० घण्टा लाग्थ्यो । त्यसपछि गाडीद्वारा नेपालगंज पुर्‍याउन थप ७, ८ घण्टा लाग्ने र सुत्केरीको बाटोमै ज्यान जाने देखेपछि शाहलाई तत्काल हेलिकप्टरको ब्यबस्था गर्न आग्रह गरीएको थियो । शाहले पोखराबाट ३ घण्टाभित्र हेलिकप्टर बोलाउँदा अचेत अवस्थामा रहेकी सुत्केरीको उद्धार भएको हो । ४ सन्तानकी आमा मगरले पाचौं सन्तानको असुरक्षित जन्म दिँदा उच्च रक्तश्राव भएको थियो ।-जनबोली

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!