तनहुँ, २७ कात्तिक ।  १४० मेगावाटको तनहुँ जलशाययुक्त जलविद्युत् आयोजनाको निर्माण गरिरहेको तनहुँ हाइड्रोपावर लिमिटेडले अर्को अर्ध जलशाययुक्त (पिकिङ रन अफ रिभर) आयोजनाको लाइसेन्स पाएको छ।

Advertisement

कम्पनीलाई १०४ मेगावाटको तल्लो सेती (तनहुँ) जलविद्युत् आयोजनाको लाइसेन्स दिइएको विद्युत् विकास विभागका महानिर्देशक नवीनराज सिंहले जानकारी दिए। ‘ऊर्जा मन्त्रालयको १२ कात्तिकको निर्णयबाट आयोजनाको सर्वे लाइसेन्स कम्पनीलाई दिने निर्णय भएको छ’,सिंहले भने,‘लाइसेन्सको अवधि दुई वर्षको रहनेछ।’

गत वर्षको चैतमा तनहुँ जलविद्युतको स्थलगत निरीक्षणमा गएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनाको तल्लो तटमा पर्ने अर्को आयोजनाको लाइसेन्स लिने प्रक्रिया अगाडि बढाउन कम्पनीका प्रबन्ध सञ्चालक प्रदीपकुमार थिकेलाई निर्देशन दिएका थिए।

निर्देशनअनुसार कम्पनीले लाइसेन्सका लागि विभागमा दरखास्त हालेको थियो। सरकारको आरक्षण सूचीमा (बास्केट) रहेकाले कम्पनीले आयोजनाको लाइसेन्स लिन दुई वर्षको एकमुष्ट २ करोड रुपैयाँ दस्तुर बुझाएको विभागले जनाएको छ। तनहुँ जलविद्युत् आयोजनाको जलशयमा सञ्चित भएको पानीलाई हिउँदमा विद्युत् उत्पादन प्रयोग गरिने हुँदा तल्लो सेती आयोजना हिँउदको विद्युत् व्यवस्थापनका लागि महत्वपूर्ण मानिएको छ।

तनहुँ जलविद्युत् आयोजनाको सञ्चित पानीको फाइदा तल्लो सेतीले समेत पाउने देखिन्छ। तल्लो सेती (तनहुँ) जलविद्युत् आयोजनाको बाँध अहिले निर्माण भइरहेको तनहुँ जलविद्युत् आयोजनाको विद्युत् गृहबाट करिब २० किलोमिटर तल्लो तटमा पर्ने केशरटारमा पर्छ।

जुन स्थान त्रिशूली र सेती नदीको दोभानभन्दा करिब १९ किलोमिटर माथिल्लो तटमा र चितवनको नारायणघाटबाट करिब ३३ किलोमिटरमा पर्छ। आयोजनाबाट वार्षिक करिब ४४ करोड युनिट ऊर्जा उत्पादन हुने अनुमान गरिएको छ। आयोजनाको अनुमानित लागत करिब २२ करोड अमेरिकी डलर छ।-थाहाखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!