ताप्लेजुङ, २० कात्तिक । ताप्लेजुङका २२ मतदान स्थल सुरक्षाका दृष्टिले अति संवेदनशील रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Advertisement

जिल्लामा कायम रहेका ७३ मतदान स्थल मध्ये २२ मतदान स्थललाई प्रशासनले अति संवेदनशीलको सूचीमा राखेको प्रमुख जिल्ला अधिकारी मोहन जिसीले जानकारी दिए ।

उनका अनुसार बाँकी २० वटा संवेदनशील र ३१ वटा मतदान केन्द्रलाई सामान्यको सूचीमा राखिएको छ ।

यसैबीच, निर्वाचन आचारसंहिता कार्यान्यवनको पछिल्लो अवस्था बारे छलफल गर्न सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय, ताप्लेजुङले आयोजना गरेको एक कार्यक्रममा अनुमति प्राप्त हतियार निर्वाचन अवधिभर प्रशासनलाई बुझाउन आग्रह गरिएको छ ।

सुरक्षा अवस्थालाइ हेरेर सुरक्षा समितिले सुरक्षा गस्तीको अभियान बढाएको तथा नाका–नाकामा चेकपोष्ट स्थापना गरी सुरक्षा जाँचमा कडाइ गर्न थालिएको प्रजिअ जिसीको भनाइ छ ।

यसअघि भएको स्थानीय तहको निर्वाचनमा जिल्लाभर ५९८ नेपाल प्रहरी, ५१० म्यादी प्रहरी, ३९० नेपाली सेना, ३६३ सशस्त्र प्रहरी र ११ जना राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मी सहित १ हजार ८७२ जना सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

सार्वजनिक स्थलका प्रचार सामग्री हटाउन निर्देशन

मुख्य निर्वाचन अधिकृतको कार्यालय, ताप्लेजुङले सार्वजनिक स्थलमा टाँसिएका पोष्टर र झण्डा निकाल्न राजनीतिक दलहरुलाई निर्देशन दिएको छ ।

अनुमतिबिना निजी घरमा पर्चा, पोष्टर तथा ब्यानर नटास्न समेत कार्यालयले दलहरुलाई सचेत गराएको छ ।

मुख्य निर्वाचन अधिकृत कृपाशुर कार्कीले आचारसंहिता उल्लङ्घन बारे उजुरी प्राप्त हुन थालेको भन्दै दुःख व्यक्त गरे ।

उनले दलहरुलाई तत्काल सार्वजनिक स्थलमा टासिएका प्रचार सामग्रीलाई हटाउने निर्देशन दिँदै भने, ‘अबदेखि आचारसंहिता विपरितका क्रियाकलाप भए, निर्वाचन आयोगले आचारसंहिता उल्लंघन अन्र्तगत गर्ने कारवाही अघि बढाउन बाध्य हुनेछौं ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!