काठमाण्डौ , १९ कात्तिक । निर्वाचन आयोगले आगामी मंसिर २१ गते दोस्रो चरणमा हुने निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी आज निर्वाचन चिन्ह प्रदान गर्दैछ ।
उम्मेदवारमाथि परेका उजुरीमाथि छानबिन गरी हिजो निर्णय गरेको आयोगले उम्मेदवारी फिर्ताका लागि आज बिहान १० देखि १ बजेसम्मको समय दिएको छ ।
उम्मेदवारी फिर्ताको समय लगत्तै दिउँसो १ देखि ३ बजेसम्ममा अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन आयोगले जनाएको छ । आजै अपरान्ह ३ देखी ६ बजेको अवधिमा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने निर्वाचन तालिका छ ।
दोस्रो चरणमा निर्वाचन हुने १ सय २८ क्षेत्रमा प्रत्यक्षतर्फ ४ हजार ७ सय ४० उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । ती मध्ये तनँहु १ मा स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दराज जोशीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको छ । दोस्रो चरणको निर्वाचनमा १ करोड ९८ लाख ८ सय ५२ मतदाता सहभागी हुने निर्वाचन आयोगले जनाएको छ ।